बाबुराम सिग्देल
काठमाडौं । काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला परेको छ । आज (बुधबार) बिहान अन्दाजी ७ः२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।


मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ । बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले जानकारी दिए । उक्त शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।



अहिले घटनास्थलमा मुचुल्काको काम लगायत अन्य अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ । बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन् ।









