काठमाडौँ । सरकारले ३ वटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गर्नुका साथै विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाउँदै नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । यस्तै विभिन्न देशमा रिक्त रहेको राजदूतमा सिफारिस गरेको छ भने २१ जना सचिवको एकै पटक सरुवा गरेको छ ।सरकारले बाग्मती प्रदेशका यादव शर्मालाई हटाएर दीपकप्रकाश देवकोटा, लुम्बिनीका अमिक शेरचनलाई हटाएर कृष्णबहादुर घर्तीमगर र कर्णालीका तिलक परियारलाई हटाएर यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।


यसअघि बाग्मती प्रदेश प्रमुख शर्मा नेकपा एकीकृत समाजवादी निकट हुन् भने लुम्बिनीका शेरचन र कर्णालीका परियार नेकपा माओवादी केन्द्र निकट हुन् । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।



सरकार फेरिएर माओवादी र नेकपा एस प्रतिपक्षी कित्तामा गएसँगै ती दल निकट प्रदेश प्रमुख पनि फालिएका हुन् । संघमा सत्ता समीकरण फेरिएसँगै माओवादी–नेकपा एसले सातै प्रदेशका सरकारसँगै प्रदेश प्रमुखको जिम्मेवारी पनि गुमाएका हुन् ।

यसैबीच, सरकारले रिक्त रहेका १८ देशका लागि राजदूत सिफारिस पनि गरेको छ । सोमबारकै मन्त्रिपरिषद् बैठकले ती देशमा राजदूत सिफारिस गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिएको छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारले शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यस्तै, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरेको छ भने बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् ।
यसअघि प्रचण्ड सरकारले नियुक्त गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी कोटाका राजदूतलाई फिर्ता बोलाउँदै नयाँ राजदूत सिफारिस गरिएको छ । सरकारले चीनका लागि कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ भने जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा रीता धिताल, अस्ट्रेलियामा कान्ता रिजाल र स्पेनमा सनिल नेपाल राजदूत सिफारिस भएका छन् । यस्तै रसिया, कतार, डेनमार्क र श्रीलंकाका लागि पनि नयाँ राजदूत सिफारिस गरिएको छ ।
यसैगरी सरकारले एकै पटक २१ जना सचिवको सरुवा गरेको छ । अर्थ सचिवमा अर्थकै राजस्व सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ भने अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय पठाइएको छ । यस्तै राजस्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेश घिमिरेलाई ल्याइएको छ ।
श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउँदै उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पठाइएको छ । संघीय मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदीको सरुवा भएको छ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालय पुगेका छन् भने रक्षाका सचिव किरणराज शर्मा वित्त आयोग पुगेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव राधिका अर्याललाई सञ्चार सचिवको जिम्मेवारी दिइएको छ । यससँगै उनी पहिलो महिला सञ्चार सचिव बनेकी छिन् ।
यस्तै, जल तथा ऊर्जा आयोगका केशवकुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने भौतिकका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् । यस्तै, राष्ट्रपतिको कार्यालयका डिल्लीराम शर्मालाई लोकसेवा आयोगमा र लोकसेवा आयोगका राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।








