देवचुली नगरपालिका–४ , मा आयोजित सातदिने निःशुल्क ऊर्जा ध्यान शिविर आज सम्पन्न भएको छ। जीवन विज्ञानको समन्वय तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविर जेठ ६ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको थियो।


समापन कार्यक्रममा वडा अध्यक्ष राम थापा, कार्यपालिका सदस्य विध्या बिक, योग गुरु श्याम शर्मा भुषाल, खेम भुषाल तथा नवराज सुवेदी ,अतिथीमा गाैँडाकाेट शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो।



देवचुली–४, स्थित सङ्कटेश्वर शिवालय मन्दिर परिसरमा सञ्चालन गरिएको शिविरमा दैनिक बिहान ध्यान, योग तथा ऊर्जा अभ्यास गराइएको थियो। शिविरले सहभागीहरूलाई मानसिक शान्ति, सकारात्मक सोच तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका वक्ताहरूले योग, ध्यान र आत्मचेतनाले स्वस्थ र सुखी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको उक्त निःशुल्क ऊर्जा ध्यान शिविर आज औपचारिक रूपमा समापन गरिएको हो।








