नबराज अधिकारी,मध्यविन्दु,नवलपुर।
मध्यविन्दु नगरपालिकाको आयोजनामा गत मंगलबार नवलपुरको चोरमारा क्लस्टरमा ‘युवा उद्यमशीलता : सोचदेखि सफलतासम्म’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। युवाहरूमा उद्यमशील सोचको विकास गर्दै आफ्नै ठाउँमा स्वरोजगार तथा व्यवसाय सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रमको पहिलो दिन उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो।
कार्यक्रममा युवा अगुवा तथा चर्चित उत्प्रेरक वक्ता राज कार्कीले मुख्य उत्प्रेरकका रूपमा सहभागी युवाहरूलाई उद्यमशीलता, आत्मनिर्भरता, सकारात्मक सोच, स्थानीय स्रोतसाधनको उपयोग तथा व्यावसायिक सफलताका विषयमा प्रेरणादायी मन्तव्य राख्नुभएको थियो।
विगत केही वर्षदेखि देशका विभिन्न स्थानमा पुगेर युवालाई स्वरोजगार, सीप विकास तथा उद्यमशीलताप्रति अभिप्रेरित गर्दै आउनुभएका कार्कीले युवाहरूमा रहेको सम्भावना र ऊर्जालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “सफलता कसैको भाग्यमा लेखिएको हुँदैन, यो दृढ संकल्प, सही सोच र निरन्तर मेहनतले आफ्नै हातले लेख्ने कुरा हो। युवाहरूले अवसरको खोजीमा मात्रै समय बिताउनु हुँदैन, आफूभित्रको क्षमता पहिचान गरी अवसर आफैँ सिर्जना गर्न सक्नुपर्छ।”
कार्कीले युवाहरूलाई जागिरको खोजीमा मात्रै सीमित नरही नवीन सोच, स्थानीय स्रोतसाधन, सीप र सम्भावनालाई उपयोग गर्दै उद्यमी बन्न आग्रह गर्नुभयो। देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि युवाको उद्यमशीलता महत्वपूर्ण आधार भएको उहाँको भनाइ थियो।
चोरमारा क्लस्टरका युवाहरूको उत्साहजनक सहभागिताले आफूलाई थप ऊर्जा र प्रेरणा मिलेको उल्लेख गर्दै कार्कीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने मध्यविन्दु नगरपालिकाका नगर प्रमुख श्री भीमलाल अधिकारी तथा सम्पूर्ण नगरपालिका परिवारप्रति विशेष धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा नगरपालिकाको समन्वय, स्थानीय युवाहरूको सक्रियता र उद्यमशीलतासम्बन्धी उत्प्रेरणात्मक अभियानले मध्यविन्दु क्षेत्रमा नयाँ व्यावसायिक सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरिएको थियो।
सुटमालाका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (CEO) तथा परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्षसमेत रहनुभएका राज कार्कीले सञ्चालन गर्दै आउनुभएको यस अभियानले युवाहरूलाई परम्परागत सीपको संरक्षण, नवीन सोचको विकास र व्यावसायिक यात्रामा जोड्ने लक्ष्य राखेको छ।
‘सोचलाई योजनामा, योजनालाई व्यवसायमा र व्यवसायलाई सफलतामा रूपान्तरण गरौँ’ भन्ने मूल सन्देशसहित अघि बढेको यस अभियानले मध्यविन्दुका युवाहरूमा उद्यमशीलताको नयाँ उत्साह थप्नुका साथै आफ्नै माटोमा सम्भावना खोज्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
