गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक भएका सेयर लगानीसम्बन्धी विवादका विषयमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन् ।


मन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफूले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने चर्चाको खण्डन गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरिएको जिकिर गरेका छन् ।



स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्रै समेटिएको बताउँदै उनले यो लुकाउने विषय नभई वर्गीकरणको मात्र सवाल भएको स्पष्ट पारेका छन्। लुकाउने मनसाय भएको व्यक्तिले २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक रूपमा नदेखाउने उनको दाबी छ ।

मन्त्री हुनुअघि नै सेयर खरिद गरिएको र उक्त लगानीको स्रोत २०८० भदौ २९ गते गरिएको ऋण (कर्जा) को तमसुक रहेको उनले खुलाएका छन् । सबै कारोबार बैंकिङ प्रणालीमार्फत नै भएकाले यसको प्रमाण सुरक्षित रहेको उनले उल्लेख गरेका छन् ।
विवादित व्यक्तिसँग दीपक भट्टसँग साझेदारी भनिएको विषयमा टिप्पणी गर्दै उनले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सेयर किन्नुलाई सबैसँगको व्यक्तिगत साझेदारी मान्न नहुने तर्क गरेका छन् । गृहमन्त्री गुरुङले व्यापारिक लगानी गर्दा भविष्यमा आउन सक्ने सबै उतारचढाव वा अवस्था पहिल्यै अनुमान गर्न नसकिने बताएका छन् ।








