काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । बिहीबार रास्वपाका सभापति रवि लामिछानेले पार्टीको संसदीय दलको उपनेतामा पराजुलीलाई चयन गरिएको जानकारी दिए ।


यसअघि केही प्राविधिक कारणले उपनेता चयनको निर्णय सार्वजनिक गर्न छुटेको बताउँदै उनले आजैदेखि लागू हुने गरी पराजुलीलाई सो जिम्मेवारी दिएको बताए ।



सभापति लामिछानेले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्नेमा जोड दिएका छन् । आफूहरुले सम्पत्ति छानबिन आयोग गठन गरिसकेको उल्लेख गर्दै उनले कोही पनि छानबिनको दायराभन्दा बाहिर नरहेको स्पष्ट पारे ।

‘हामी कोही पनि पब्लिक अडिट र छानबिनबाट बाहिर छैनौँ,’ लामिछानेले भने, ‘मेरो त बैंक स्टेटमेन्ट नै सार्वजनिक छ, अरूलाई जे नियम लागू हुन्छ, रास्वपाका नेतालाई पनि त्यही नियम लागू हुन्छ, हामी कोही अलग होइनौँ ।’
संसद्को गतिविधिका सम्बन्धमा बोल्दै उनले संसद् मर्यादित र सक्रिय ढंगले अगाडि बढ्नुपर्ने बताए । आवश्यक कानुन निर्माण र परिमार्जनमा संसद्ले विवेकपूर्ण भूमिका खेल्नेमा आफू आशावादी रहेको उनले उल्लेख गरे ।









