काठमाडौं । निर्वाचन आयोगले यही २१ गते फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक र वाह्य दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिने निर्णय गरेको छ ।


आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको हो । सोही क्रममा आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान यथावत सञ्चालनको वातावरण बनाउन भनेको छ । निर्णय अनुसार मतदानको दिन आन्तरिक र वाह्य उडान यथावत सञ्चालन हुने छन् ।



आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले गृह मन्त्रालयलाई भनेको छ । यसअघिका निर्वाचनमा आन्तरिक उडानका जहाज बन्द गर्ने प्रचलन थियो ।









