आजबाट प्रदर्शनमा आएको फिल्म ‘पिआर’ले गत बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा पत्रकारदेखि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य ‘काकु’, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दनालगायतको उपस्थिति थियो ।


फिल्म हेरेपछि अभिनेत्री रेखा थापाले फिल्मको प्रशंसा गर्दै नवकलाकारहरूको काम मन परेको बताइन् । बोर्ड अध्यक्ष डिसीले निर्देशक शोभित बस्नेतको काम र कलाकारको अभिनय राम्रो लागेको बताउँदै हरेक नेपालीले फिल्म हेर्न आवश्यक रहेको दाबी गरे । अभिनेता सलिनमान बनियाँले फिल्ममा कलाकार नयाँ भए पनि काम गर्ने शैली पुराना कलाकारको जस्तै रहेको प्रतिक्रिया दिए ।



निर्देशक शोभित बस्नेतले प्रिमियरमा प्राप्त प्रतिक्रियाले दर्शकहरू फिल्म हेर्न आउनेमा आफू ढुक्क रहेको बताए । अभिनेत्री रेजिना उप्रेतीले आफूलाई केही दृश्यहरूले भावुक बनेको बताउँदै नेपालीहरू विदेशमा पुगेपछि कस्तो अवस्थामा पुगिदो रहेछ भन्ने कुराले आफूलाई छोएको जनाइन् ।

फिल्ममा नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पिआर)प्राप्त गर्नका कस्तो संघर्ष गर्नुपर्छ र घरको ऋणले कसरी सताउँछ भन्ने कुरालाई देखाइएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय छ । फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल, र दिक्पाल कार्की विशेष भूमिकामा छन् ।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता छन् ।








