काठमाडौँ । महाधिवेशनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओली रक्षात्मक देखिएका छन् । २७ मंसिरमा सुरु हुने ११औँ महाधिवेशनमा उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा चुनौती दिँदै छन् । पोखरेलले ओलीको विकल्पमा आफू अध्यक्षको उम्मेदवार बनेको भन्दै ओलीले सहज रूपमा छाडेमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारिसकेका छन् । ओलीबाहेक कोही अध्यक्षको उम्मेदवारका रूपमा आए आफू सहमतिमा आउन सक्ने बुधबार सम्पादकहरूसँगको संवादका क्रममा खुलाए । लगत्तै बिहीबार नै अध्यक्ष ओलीले पनि सम्पादकसँग संवाद गर्दै पोखरेलले उठाएका प्रश्नहरूको जबाफ दिने कोसिस गरे । पोखरेल पक्षका नेताहरूले एकपछि अर्को गरी ओली कार्यशैलीको भण्डाफोर गरिरहँदा आफ्नो माहोल बिग्रिँदै जाने डरमा रहेका ओलीले आकस्मिक रूपमा सम्पादक भेला गरेर आफ्नो कुरा राखे । इतर पक्षप्रति धेरै कडा नसुनिएका उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गरे र नेतृत्वको आकांक्षा प्रकट गरे ।


निर्विरोध अध्यक्ष हुने आशा



ओलीले ११औँ महाधिवेशनबाट आफू निर्विरोध अध्यक्ष हुने आशा व्यक्त गरे । उनले आफ्नाविरुद्ध कोही पनि नउठ्ने विश्वास व्यक्त गर्दै भने, ‘मलाई आशा छ, मेराविरुद्ध कोही नउठ्ला । म निर्विरोध हुन्छु भन्ने मेरो मूल्यांकन हो ।’ यद्यपि ओलीले सर्वसम्मत नेतृत्व चयनको पक्षमा आफू पनि रहेको भन्दै करकापमा सहमति नहुने स्पष्ट पारे । उनले चुनाव नकारेनन् र पद छाड्छु पनि भनेनन् । बरु ईश्वर पोखरेलले बाहिर उम्मेदवारी घोषणा गर्दै हिँडेको भन्दै आफूलाई छाड्न प्रस्ताव गर्न नआएको बताए । ‘सहमति भनेको करकाप होइन । कसैले म लड्छु भन्छ भने उसलाई रोक्ने कुरा भएन । लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धालाई म स्वागत गर्छु । दबाबमा काम गर्दिनँ,’ उनले भने, ‘उहाँले (पोखरेल) बाहिर–बाहिर होइन, मसँग भन्नु प¥यो नि ! अहिलेसम्म मसँग भन्नुभएको छैन ।’

जाँचबुझ आयोगलाई दिने बयानको सन्दर्भमा नरम
२३ र २४ भदौको जेनजी आन्दोलनमा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगप्रति आगो ओकल्दै आएका ओली आयोगप्रति नरम सुनिए र बयान दिन जाने संकेत गरे । आयोगलाई बयान दिन उनलाई पार्टीभित्रै दबाब परेको छ । बुधबार वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि ओलीले बयान दिन जानुपर्ने बताएका थिए । ओलीले बयान दिने कि नदिने भन्ने आफ्नो कुरा भएको भन्दै कानुनी व्यवस्थाबारे आफू जानकार रहेको उल्लेख गरे । ‘बयान दिन जाने नजाने मेरो कुरा होला नि ! के कानुनी व्यवस्था छ, त्यससम्बन्धमा मैले पनि हेरेको हुँला नि ! त्यसबापत कुनै सजाय भोग्नुपर्छ, केही गर्नुपर्छ भने मैले गर्छु होला नि !,’ उनले भने ।
देउवासँगको भेटले परिणाम देखाउने दाबी
जेनजी आन्दोलनपछि अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गत १९ मंसिरमा भेटवार्ता भएको थियो । ओलीले सो भेट अर्थपूर्ण भएको भन्दै त्यसको परिणाम आगामी दिनमा देखिने दाबी गरे । ‘अर्थपूर्ण छलफल भयो । त्यसको अर्थ छ । भोलि देखिन्छ,’ उनले भने ।








