अभिनेत्री सामन्था रुथ प्रभुले निर्माता राज निदिमोरुसँग गुपचुप विवाह गरेकी छन् । दुवैले ईशा योग केन्द्रभित्रको लिंग भैरवी मन्दिरमा विवाह गरेका हुन् । उनीहरूले सोमबार बिहान विवाह गरेका हुन् । उनीहरूको विवाहमा केबल ३० जना मात्र पाहुना थिए । विवाहमा सामन्थाले रातो रंगको साडी लगाएकी थिइन् । राज भने सेतो कपडामा थिए । विवाहलाई पूर्णरूपमा गोप्य राखिएको थियो ।


सामन्थाले विवाहको तस्बिर इन्स्टाग्राममा राख्दै ‘१.१२.२०२५’ लेखेकी छन् । जोडीले संस्कारपूर्वक विवाह गरेका थिए । एक तस्बिरमा आगोको अगाडि दुवैले हात समाएका छन् ।



सन् २०२१ मा नागा चैतन्यसँग सम्बन्धविच्छेद पछि सामन्था एक्लिएकी थिइन् । सामाजिक सञ्जालमा उनी पटकपटक एक्लोपनको कुरा लेखिरहन्थिइन् । सामन्था र राजको प्रेम चर्चा बलिउडमा राम्रै थियो । सामन्थाको सामाजिक सञ्जालमा पनि उनले राजप्रति प्रेम दर्शाइरहन्थिन् । तर दुवैले अफेयरको कुरालाई कहिल्यै स्वीकारेनन् ।

सामन्था र राजको पहिलो भेट सन् २०२१ मा रिलिज सिरिज ‘द फेमिली मेन २’को निर्माणताका भेट भएको थियो । नागासँग सम्बन्धविच्छेदकै वर्ष उनीहरूको भेट भएको हो । उनीहरू पहिलोपटक पिकलबल टिम चेन्नई सुपर च्याम्प्स खेलका दौरान सँगै देखिएका थिए । गत महिना सामन्थाले आफ्नो प्रोडक्सन हाउसको फिल्म ‘मा इंति बांगारम’को मुहूर्त गर्दा राज त्यही उपस्थित थिए । उनीहरूले दिवाली पनि सँगै मनाएका थिए ।
राज ‘शोर इन द सिटी’, ‘सिनेमा बंदी’, र ‘अनपज्ड’ का निर्माता हुन् । उनी ‘द फेमिली मेन’, ‘सिटाडेलःहनी बनी’, र ‘फर्जी’ जस्ता चर्चित सिरिजका लागि पनि चिनिन्छन् । सामन्था र राजले ‘द फेमिली मेन २’ र ‘सिटाडेलः हनी बनी’ जस्तो प्रोजेक्टमा सहकार्य पनि गरेका छन् ।सामन्थाको पहिलो विवाह सन् २०१७ मा नागा चैतन्यसँग भएको थियो । नागाले गत वर्ष शोभित धुलिपालासँग विवाह गरेका थिए ।









