मुम्बई । अभिनेत्री माधुरी दीक्षितले हालै गरेको क्यानडा टुर विवादमा तानिएको छ । माधुरीले गत आइतबार क्यानडामा आफ्नो प्रस्तुती दिएकी थिइन् । यद्यपि अहिले उक्त शोको कैयौँ भिडियो बाहिर आएको छ । जसमा माधुरी कन्सर्टमा ३ घण्टा ढिलो पुगेको दर्शकले आरोप लगाएको सुन्न सकिन्छ । यो घटनाप्रति दर्शकले माधुरी र आयोजकको तीव्र आलोचना गरेका छन् ।सामाजिक सञ्जालमा माधुरीको शोको कैयौँ भिडियो भाइरल भएका छन् । शोमा सहभागी एक दर्शकले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै ‘यो कस्तो हास्यास्पद रात हो र यी मानिसहरू यसका लागि पैसा पाउँछन् ? यदि मैले तपाईंलाई एउटा सल्लाह दिनुप¥यो भने माधुरी दीक्षितको क्यानडा टुरमा उपस्थित नहुनुहोला । आफ्नो पैसा बचाउनुहोला’ भनी लेखेका छन् ।


त्यस्तै शो हेर्न पुगेकी एक महिलाले पनि निराशा पोखेकी छन् । ‘म खुसी छु कि मैले उनलाई हेर्न पाएँ । म रातको ११ः०५ बजे निस्किएँ किनकि भोलि मलाई काममा जानु थियो । मलाई थाहा छैन कि यो निर्णय(माधुरी ढिलो आउने कारण) आयोजकले लिएका थिए या उनी आफैँले लिएकी थिइन् । उनी राती १० बजे आइन् । मेरो टिकटमा कार्यक्रम सुरु हुने समय ७ः३० बजे लेखिएको थियो । त्यसमा कहीँ पनि कुनै प्रि–शोको दाबी गरिएको थिएन । मैले सोचेको थिएँ कि यो केही कुराकानीसहित गीत र नृत्यको शो हुनेछ । तर यो निकै ढिला सुरु भयो र दर्शकको समयको कुनै कदर गरिएन,’ उनले भनेकी छन् ।



एकातिर माधुरीको आलोचना भइरहँदा उनका फ्यानले भने माधुरीको समर्थन गरेका छन् । माधुरीको बचाउ गर्दै एक फ्यानले ‘उहाँ सदा झैँ निकै शालिन शैलीले प्रस्तुत हुनुभयो । सायद यो कुनै प्रोडक्सन या व्यवस्थापनसँग जोडिएको समस्या होला’ लेखेका छन् ।माधुरी हालका दिनमा क्यानडा र अमेरिका टुरमा छिन् । क्यानडाको शो पछि आगामी ६ नोभेम्बरमा न्युजर्सी, ७ नोभेम्बरमा बोस्टन, ८ नोभेम्बरमा सिकागो, ९ नोभेम्बरमा ह्युस्टन र अन्तिम शो १५ नोभेम्बरमा न्युयोर्कमा गर्दै छिन् ।










