काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले थप ४ दिन हिरासतमा राख्ने अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रविसहितलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । यसअघि ७ पटक म्याद थप गर्दै हिरासतमा राखिएका रविलाई ८औँ पटक म्याद थप गरिएको हो ।


सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै अदालतमा उपस्थित गराइएका उनीहरूलाई थप ४ दिनको म्याद हिरासतमै राख्न अनुमति दिइएको हो । कास्की प्रहरीले सोमबार अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मंगलबार लामिछानेलाई अभियोग पत्र दायर गरुन्जेल हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।



अब ४ दिनभित्रमा लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्नै पर्ने बाध्यता छ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न बढिमा ९० दिन प्रहरीले अनुमति पाउँछ । रविको हिरासत बसाइ ९० दिन नपुगको भए पनि यो मुद्दासंगै जोडिएका छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पूरा हुने भएकोले रविको हिरासतक हिसाब पनि यसैसंग जोडिएकोे हो ।

रविविरुद्ध अनुसन्धान सकेर कास्की प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । लामिछानेसहित ५१ जनाविरुद्ध आगामी शुक्रबारभित्र जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ । त्यही तयारीका लागि अदालतले उनीहरूलाई थप ४ दिन हिरासतमै राख्ने अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध ३ वटा अभियोगमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको पुस ५ गते ९० दिन पुग्दैछ । लामिछानेलाई पनि जोशी पक्राउ परेको मितिबाट म्याद मिलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबार बुझाएको प्रतिवेदन अध्ययन गरिरहेको सरकारी वकिल कार्यालयले अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरिरहेको छ । त्यतिञ्जेलका लागि मंगलबार रविलाई म्याद थप गरेर हिरासतमा राख्ने अनुमति लिइएको हो ।








