काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेको ६ महिनापछि पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ । लामो समयको रस्साकस्सी पछि नेताले जिम्मेवारी पाएका हुन् ।


विगत ६ दिनदेखि चलेको पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकले सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो । कार्यविभाजन निकै पेचिलो बनेको सो पार्टीले लामो बहसपछि निर्णयमा पुर्याएको हो ।



मंगलबार गठन गरेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष माघवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिव गरी २४ जनाको रहने उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । त्यस्तै गरी महासचिवको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेकोे छ ।

महाधिवेशन सकिएको लामो समयपछि स्थायी कमिटीको जारी बैठकमा रस्साकस्सीपछि नेताहरूको कार्य विभाजन गरी जिम्मेवारी टुंग्याएको हो । लामो समय नेतालाई जिम्मेवारी दिन नसकेको सो पार्टीले विभागीय प्रमुख उपप्रमुख र प्रदेश इन्चार्जको समेत टुंगो लगाएको छ ।
पार्टीको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वेदुराम भुसाल, पार्टी अनुगमन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, स्कुल विभाग प्रमुखमा भलनाथ खनाल, संघीय मामला प्रमुख जगन्नाथ खतिवडा, आर्थिक विभाग प्रमुख सोम पाण्डे, मोर्चा संगठन प्रमुख राजेन्द्र पाण्डे, अर्थ विभाग प्रमुख डा. विजय पौडेल रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
त्यसैगरी सो पार्टीले प्रदेश इन्चार्चहरूको समेत जिम्मेवारी टुंग्याएको छ । केही प्रदेशमा पुरानै दोहोरिएका छन् भने कहीँ नयाँले जिम्मेवारी पाएका छन् । प्रदेश इन्चार्जहरूमा कोसीमा राजेन्द्र राई, मधेसमा धर्मनाथ प्रसाद साह, बागमतीमा डा.गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणि चौधरी, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरप्रदेशको इन्चार्जमा भानुभक्त जोशी रहेका छन् ।
जिल्ला इन्चार्ज, सह–इन्चार्ज र अन्य जिम्मेवारी टुंग्याएको भए पनि त्यसलाई २ दिनपछि मात्रै बाहिर ल्याउने खतिवडाले बताए । ‘सबै टुंगिए पनि त्यसमा केही प्राविधिक कुरा छन् त्यसलाई मिलाएर २ दिनपछि बाहिर ल्याइन्छ’, उनले भने । उनका अनुसार मंगलबार नै पार्टीका सबै नेताहरूको जिम्मेवारी टुंगिएको छ ।
त्यस्तै एकीकृत समाजवादीको बैठकले पार्टीलाई जनतासँग जोड्न र जनताका दैनिक समस्या पहिचान गरेर जनसंघर्ष वा आन्दोलन गर्ने निर्णय पनि गरेको छ । पार्टीले जनसंघर्षको कार्यक्रम तयार गरेर सार्वजनिक गर्ने खतिवडाको भनाइ छ ।
त्यसैगरी बैठकले कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ । तर एजेन्डाका आधारमा सहकार्य गर्न सक्ने विकल्प भने खुलै राखेको सो पार्टीले जनाएको छ । सो पार्टीमा एकताको बहस बेलाबेला उत्सर्गमा पुग्ने र त्यसैअनुसार नेताहरूले आफूखुसी अभिव्यक्ति दिने गरेका छन् ।








