काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले हारेसँगै लुम्बिनी लायन्स प्रतियोगिताबाटै बाहिरिएको छ ।


बुधबार भएको दोस्रो खेलमा काठमाडौंसँग १८ रनले हार ब्यहोरेसँगै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ । टस जितेर पहिला ब्याटिङ गर्दै काठमाडौं गुर्खाजले दिएको १०४ झिनो रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भएको हो ।



लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा २ चौका प्रहार गरे । त्यसैगरी उन्मुक्त चन्दले १९ बलमा १३ रनमा कप्तान करण केसीको बलमा आउट भए । सूर्य तामाङ ११ रन जोड्दै नट आउट रहे । कप्तान रोहित पौडेल ८, टम मुर्स ६ तथा ओपनर आशुतोष घिरैया ४ रनमा आउट भए ।

काठमाडौंका लागि कप्तान करण केसीले ४, दीपेश कँडेलले ३ र जेहार्ड एरास्मसले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अल आउट भएको थियो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए ।
भीमले ४० बलमा १ चौका प्रहार गरेका थिए । भीम अभिषेस गौतमको बलमा आउट भएका हुन् । १३औँ ओभरको पाँचौं बलमा भीमले जीवनदान पाए । भीमलाई बलर विवेक यादवले रन आउट गराउन चुके । त्यो समयमा भीम २४ रन बनाएर खेलिरहेका थिए ।
ड्यान ड्वाथवेट २१ रन बनाएर आउट भए । २४ बलको सामना गरेका ड्याथवेट विवेकको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए । प्रतिक श्रेष्ठले १४ बलमा २ छक्काको सहयोगमा २० रन बनाउँदै आउट भए ।
काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए । लेभिट रेमन सिमोण्डसको बलमा बोल्ड आउट भए । दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए । स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए ।
काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउँदै आउट भए । एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए । एनपिएलमा खास चल्न नसकेका एरास्मसले ४ खेलमा सर्वाधिक ३८ रन बनाएका छन् । उनले चितवन राइनोजसँग ४, कर्णाली याक्सविरुद्ध ३८ तथा सुदूरपश्चिम रोयल्ससँगको खेलमा १० रन जोडेका छन् ।
सातौँ विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सूर्य तामाङको बलमा आउट भए । लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिशेष गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए ।
लुम्बिनीको ६ खेलमा ५ मा हार र १ मा जितसहित २ अंक रहेको छ । यो हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । हारसँगै प्रतियोगिताबाट बाहिरिने लुम्बिनी पहिलो टोली बनेको हो । लुम्बिनी यसअघि विराटनगर किङ्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । लुम्बिनीले मंगलबार चितवनलाई पराजित गरेको थियो ।
४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै रहेको छ । बुधबारको पहिलो खेलमा शीर्ष स्थानको जनकपुरलाई दोस्रो स्थानको सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
यस प्रतियोगितामा बिहीबार पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्ने छन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्ने छन् ।









