काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।


प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औं प्राज्ञसभामा नाष्टका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरेका हुन् ।



उनले तरकारी र उत्पादनमा विषादीयुक्त किटाणुु कसरी रोक्ने र चाहिने किटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताको विषयमा अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता सस्थासँग सहकार्य होस् । प्रशासनिकरुपमा मुुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु । तपाईं वैज्ञानिकहरुबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान हुन म आग्रह गर्छु ।’
प्रधानमन्त्री ओलीले भने, ‘ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विभिन्न कारणले पछाडि परेको छ । अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुुपालनको युुग सुरु गरिसकेका थियौँ । अब ग्रिन हाइड्रोजनको प्रयोग र अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइन राख्ने विषयमा ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्व सूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’








