काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज शुक्रबार पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिँदै छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको छ ।


२ ठुला सहकारी संस्थाको बचत रकम लगानी गरिएको गोर्खा मिडिया नेटवर्कमा रवि लामिछानेका साझेदार रहेका पूर्वडिआइजी छविलाल जोशीलाई आज (शुक्रबार) ११ बजे समितिले बयानका लागि बोलाएको छ । उनको बयान सकिएलगत्तै लामिछानेलाई बयानका लागि बोलाइएको समिति सभापति सूर्य थापाले बताए । उनका अनुसार लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछमा बोलाएको छ ।



गोर्खा मिडिया नेटवर्कमा छविलाल, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जिबी) साझेदार थिए । छविलालको बयान लिएपछि मात्रै रास्वपा सभापति लामिछानेको बयान लिने संसदीय छानबिन समितिले यसअघि नै तयारी गरेको थियो । जोशीकी आमाको मृत्यु भएकाले बयानका लागि समितिले पर्खिएको थियो । यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।

तर, जोशीले आमाको काजकिरिया ६ भदौमा सकिने र त्यसको भोलिपल्ट बयानमा आउने बताएका थिए । जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो । समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।








