नयाँ दिल्ली । पठानको अपार सफलतापछि शाहरुख खान र सलमान खान यशराज फिल्म्सको स्पाइ थ्रिलर टाइगर भर्सेस पठानमा सँगै देखिँदैछन् । यो फिल्म सुरुदेखि नै चर्चामा छ ।


टाइगर भर्सेज पठानमा एक पटक पुनः शाहरुख खान पठान र सलमान खान टाइगरको अवतारमा देखिनेछन् । केही दिन अघि मात्रै बलिउड हंगामाले पहिलो पटक यशराज फिल्म्सले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउँदै टाइगर भर्सेज पठान ल्याउनु अघि अर्को नयाँ स्पाइ थ्रिलर फिल्म ल्याउन लागेको बताएको थियो ।



नयाँ फिल्मले टाइगर भर्सेज पठानको लागि प्लट तयार पारिदिने र कहानीमा नयाँ मोड ल्याउने बताइएको छ । स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले छापेको समाचारका अनुसार टाइगर भर्सेज पठानअघि पठान २ आउँदैछ । यो फिल्ममा शाहरुख फेरि लिड रोलमा देखिनेछन् । मेकरहरुले २०२४ को अन्त्यसम्ममा पठान २ को सुटिङ सुरु गर्दैछन् । फिल्म सन् २०२६ मा रिलिज गर्ने तयारी छ ।

टाइगर भर्सेज पठान सुरु गर्ने तयारी
टाइगर भर्सेस पठान यशराज फिल्म्सको ९ औं फिल्म हुने एक विश्वस्त स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । पठान२ ले मात्र नभएर आलिया भट्टको जासुस थ्रिलर फिल्मले पनि टाइगर भर्सेज पठानको टक्करलाई नयाँ ट्विस्ट दिने बताइएको छ ।
आदित्य चोपडाले टाइगर भर्सेज पठानलाई भारतीय सिनेमाको सबैभन्दा महत्वाकांक्षी सिनेमेटिक ब्रह्माण्डको जासुस फिल्मको रूपमा प्रस्तुत गर्नेछन् ।
पठान २ को सुटिङ सकिने बित्तिकै टाइगर भर्सेज पठानको सुटिङ सुरु हुने बताइएको छ । यो फिल्मको सुटिङ शेड्यूल सय दिनभन्दा बढीको हुनेछ । यो फिल्मको सुटिङ भने सन् २०२६ मा हुनेछ भने सन् २०२७ मा रिलिज हुनेछ । अहिले यो फिल्मको प्रि–प्रोडक्सनको काम सुरु भएको छ ।








