काठमाडौँ । पाकिस्तानी टेस्ट क्रिकेट टोलीका ब्याट्सम्यान असाद सफिकले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । ३८औं वर्ष प्रवेशको तयारीमा रहेका दायाँहाते ब्याट्सम्यान सफिकले सबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् ।


पाकिस्तानका लागि तीनवटै ढाँचाको क्रिकेट खेले पनि टेस्ट क्रिकेटमा उनको प्रदर्शन उत्कृष्ट थियो । सफिकले देशका लागि ७७ टेस्टमा एक सय २८ पाली खेल्दै कुल चार हजार ६ सय ६० रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा १२ सतक र २७ वटा अर्धसतक पनि बनाएका छन् ।



टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने एक सय ३७ रन हो । उनी पाकिस्तानका लागि ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले ६० वटा एकदिवसीय खेलमा कुल एक हजार तीन सय ३६ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले नौवटा अर्धसतक पनि बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनको उत्कृष्ट प्रदर्शन ८४ रन हो । यसका अतिरिक्त उनले १० वटा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै एक सय ९२ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा तीनवटा विकेट पनि लिएका छन् ।
‘पछिल्लो समय म अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलेको जस्तो रमाउन सकिरहेको छैन । मेरो शारीरिक अवस्थाले पनि राम्ररी साथ दिइरहेको छैन । त्यसैले मैले सक्रिय खेलजीवनबाट सन्न्यास लिने निणर्य लिएको हुँ,’ उनले भनेका छन्, ‘मलाई साथ र सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै म केवल यति भन्न चाहन्छु, गुडबाई टु अल क्रिकेट ।’
आफूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँग नयाँ भूमिकाको लागि सम्झौता गरिसकेको पनि बताएका छन् । ‘म अब राष्ट्रिय टोलीको छनोटकर्ताको भूमिकामा देखिने छु । यसका लागि मैले पीसीबीसँग सम्झौता पनि गरिसकेको छु,’ उनले भनेका छन् ।








