गत शुक्रबारदेखि रिलिज भएको फिल्म ‘२ नम्बरी’ ले फिल्मका प्राविधिकहरूलाई बोनस दिने भएको छ । फिल्मले व्यवसायिक सफलता हात परेकोले निर्माता किरण नेपालीले प्राविधिकहरूलाई बोनस दिने बताएका हुन् ।
फिल्मले रिलिजको पाँचौ दिन मंगलबार पनि ब्यवसाय राम्रो गरेको छ । देशैभरका मल्टिप्लेक्समा फिल्म हेर्न दर्शकको उच्च अकुपेन्सी रहेको बताइन्छ ।





फिल्मका निर्माता किरण नेपालीले आफूहरु नाफामा गैसकेको बताए । ‘फिल्मले निर्माताको पोल्टामा राम्रो रकम फिर्ता गर्ने पक्का छ’ नेपालीले भने ‘कमाउने भएपछि पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरूलाई केही दिन पर्छ भन्ने लाग्यो ।’ कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई आफुले बोनस दिने नेपालीले खुलाए ।

बोनस कति दिने भन्ने अहिले पक्का नभएको भएपनि लाइफटाइम कलेक्शनको आधारमा बोनस दिने नेपालीले सुनाए । नेपालमा फिल्म हिट भएपछि निक्कै कम मात्र मेकरले प्राविधिकहरूलाई बोनस दिएका उदाहरण छन् ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ ।








