भारतीय हास्यकलाकार राजु श्रीवास्तवकी श्रीमती शिखा श्रीवास्तवले श्रीमानको अवस्था स्थिर रहेको र चिकित्सकहरुले उनको उपचारका लागि सक्दो प्रयास गरिरहेको बताइन् । शिखा श्रीवास्तवले आफ्नो श्रीमान् लडाकु भएको र सबैमाझ फर्किने विश्वास व्यक्त गरिन् ।





राजु श्रीवास्तवलाई अगस्ट १० मा हृदयघात भएको थियो, त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार शिखा श्रीवास्तवले उनका श्रीमानको अवस्था स्थिर रहेको र डाक्टरहरूले उनको राम्रो उपचार गरिरहेको बताइन् ।

उनले भनिन्, ‘उनको अवस्था स्थिर छ । डाक्टरहरूले उनको राम्रोसँग उपचार गरिरहेका छन् । राजु जी एक लडाकु हुनुहुन्छ र उहाँ हामी सबैको बीचमा फर्कनुहुनेछ । हामीलाई तपाईंको प्रार्थना र शुभकामना चाहिन्छ ।’
शिखा श्रीवास्तवले जनतालाई अफवाह नफैलाउन अपिल पनि गरेकी छन् । यसले आफ्नो मनोबलमा असर पर्ने उनको भनाइ छ ।
शिखा श्रीवास्तवले भनिन्, ‘मेरो विनम्र अनुरोध कृपया अफवाहहरू नफैलाउनुहोस् । यसले हाम्रो मनोबललाई असर गर्छ । हामी नकारात्मक ऊर्जा चाहँदैनौँ, हामी सकारात्मकता चाहन्छौँ । कृपया उहाँको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुहोस् र उहाँ छिट्टै फर्कनुहुनेछ । डाक्टरहरूले हरसम्भव प्रयास गरिरहेका छन् । अनि राजुजीले पनि साथ दिइरहुन भएको छ, लडिरहनुभएको छ । त्यसैले नकारात्मकता नफैलाउनुहोस् ।’
यसै क्रममा समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत गर्दै राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार नगण्य रहेको र उनी अझै अचेत अवस्थामा रहेको बताएको छ ।








