अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको गत हप्ता ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सैन्य अभ्यास सुरु गरेको छ ।





चीनको यो सैन्य अभ्यास ताइवान वरपर जारी छ । ताइवानका विदेशमन्त्रीले चीनको यो सैन्य अभ्यास आक्रमणको तयारी भएको बताएका छन् ।

मङ्गलबार सञ्चारमाध्यमसँग कुरा गर्दै ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनले ताइवान जलडमरूको यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको बताए । उनले चीनको सैन्य गतिविधिले उसले आक्रमण गर्न सक्ने चिन्ता बढाएको बताएका छन् ।
जोसेफ वुले भने, ‘ताइवान स्ट्रेटमा मध्य रेखाको सन्दर्भमा दशकौंदेखि यथास्थिति रहेको छ । मध्य रेखा चीन र ताइवानबीच यथास्थितिको प्रतीक भएको छ । तर पछिल्ला केही दिनमा चिनियाँ सैन्य अभ्यासका कारण यसमा क्षति पुगेको छ । यसले ताइवानको क्षेत्रीय शान्ति, स्थायित्व र सुरक्षामा प्रतिकूल असर पार्नेछ ।’
बुधवारदेखि आइतबारको बीचमा, चीनले मध्य रेखा पार गरी १२० विमान पठाएको छ । ताइवानले पनि जवाफमा विमान र जहाजहरू तैनाथ गरेको छ । ताइवानले चिनियाँ आक्रामकताको निगरानी गर्न यी तैनाथहरू आवश्यक भएको बताएको छ ।
जोसेफ वुले भने, ‘ताइवान स्ट्रेटको यथास्थितिलाई जोगाउन र कायम राख्न हामीलाई सम्भव भएसम्म विश्वका धेरै देशहरूको समर्थन चाहिन्छ ।’
ताइवानको रक्षा मन्त्रालयले सोमबार साँझ ५ बजेतिर ३९ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोत ताइवानको जलक्षेत्रमा आइपुगेको जनाएको छ । यसबाहेक सोमबार पिपुल्स लिबरेसन आर्मीका २१ जेट विमान मध्य रेखा पार गरेर ताइवानको जलक्षेत्रमा प्रवेश गरेका थिए ।








