देवचुली,


देवचुली नगरपालिकाका जनप्रतिनिधि, ट्याक्टर व्यवसायी संघ र किसान बिच देवचुली नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार देवचुली नगरपालिकाको सभाहलमा ट्याक्टरको भाडा एकरूपता गराउनुपर्ने विषयमा छलफल भएको हो । छलफल पश्चात देवचुली नगरपालिकामा सम्पूर्ण ट्याक्टरको जोताई प्रति घण्टा २५ सय रुपैयाँ निर्धारण गर्ने सहमति भएको छ । पछिल्लो केही दिन देखि तेलको मुल्य बढेसँगै ट्याक्टर व्यवसायीले पनि जोताईको मुल्य बढाउँदा किसानलाई मार परेको थियो । ट्याक्टर व्यवसायीले जोताईको मुल्य एकरुपता नगर्दा मारमा परेका किसानलाई सहजीकरण गर्न देवचुली नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।



जसमा जनप्रतिनिधि, व्यवसायी र कृषकहरु बसेको बैठकले ट्याक्टरजोताईको मुल्य प्रति घण्टा २५ सय र रोलाभेटरको मुल्य प्रति घण्टा २६ सय निर्धारण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेले नगरले नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रमका लागि किसानहरुका लागि आवश्यक योजनाहरु राखिएको र आपसी समझदारीमा कार्यक्रम गरिने बताउनुभयो ।
यस्तै नगर उप(प्रमुख पार्वता तिवारीले तेलको भाउ बढेसँगै ट्याक्टर व्यसायीहरूले पनि भाडाको दर एकरूपता गर्दा ट्याक्टर व्यवसायीलाई पनि घाटा नहुने र कृषकहरूलाइ पनि मर्का नपर्ने तिवारीले बताउनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्लेले तेलको भाउ आकाशिय सँगै सबै क्षेत्रलाई असर पारेको बताउँदै कसैलाई घाटा नहुने तरिकाले आपसी सम्झदारीमा दररेट कायम गर्नुपर्ने बताउनुभयो ।
देवचुली ५ का कृषक ठाकुर प्रसाद पोख्रेलले कृषकले उत्पादन गरे नै सबैले खान पाउने भएकाले किसानको मर्कालाई बुझेर दर मिलाउनुपर्ने बताएका थिए ।
यसैगरि ट्याक्टर व्यवसायी दुर्गा प्रसाद भुसालले बर्खा लागेसँगै ट्याक्टरको काम पनि व्यस्तता हुने तर त्यही समयमा तेलको मुल्य बृद्धि हुँदा किसान र ट्याक्टर व्यवसायीलाई नै समस्या हुने बताउनुभएको थियो । उहाँले किसान र ट्याक्टर व्यसायीको सम्बन्ध नङ र मासुको जस्तो भएकाले किसान र व्यवसायीलाई मर्का नपर्ने गरि नगरपालिकाले केही सहयोग गर्यो भने एकदुई सय कम गर्न सक्ने बताउनुभएको थियो ।
छलफल कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका सूचना प्रविधी शाखा प्रमुख तथा सूचना अधिकारी कृष्णहरि सापकोटाले गर्नुभएको थियोे ।








