देवचुली


देवचुली १५ मा आज कोण सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार अशोक बस्ताकोटीले आफुहरु नगरमा ‘साहेब’ नभई सेवक बन्न आएको बताएका छन्। आसन्न बैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागी मत अपिल गर्दै प्रत्यक वडामा पुगी वडाबासीहरुलाई आफ्नो घोषणापत्र संगै प्रतिवद्धतापत्रको बारेमा जानकारी गराउने क्रममा उक्त कुरा बताएका हुन् ।




आज देवचुली १५ सालघारीमा पुगी बस्ताकोटीले ” पिपलको रुख मुनि बसी जनता समक्ष प्रतिज्ञा गरेका छौं , यदि पुरा नभए कान समातेर जवाफ माग्नुहोला ” भन्दै सबै समक्ष आफ्नो चुनावी एजेन्डा संगै जित पछि गर्ने कामहरुको बारेमा बताएका थिए। यस्तै उप मेयरका उम्मेदवार रहेका सत्यनारायण भुसालले वडा बिकासको लागी वडा बाट मात्र नभई नगर हुँदै प्रदेश तथा केन्द्रदेखि समेत बजेट ल्याउने प्रतिवद्धता गरेका छन्।
वडा अध्यक्ष पदका उम्मेदवार सुरेस कुमार रानाभाटले लोकाहा खोलाले निम्त्याएको कटानको समस्या समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् भने निवर्तमान अध्यक्ष हरीभक्त भट्टराईले आफुहरुले आफ्नो कार्यकालमा प्रशस्त कार्यहरु गरेतापनि प्रचारप्रसारको कमीले काम नदेखिएको प्रति दुख ब्यक्त गरेका थिए।
यता देवचुली नगरपालिकाका गठबन्धनका चुनाव प्रचार–प्रसार समितिका संयोजक भोजेन्द्र रायमाझीले अहिलेका गठबन्धनका उम्मेद्वारहरुले अन्य पार्टीका उम्मेदवार जस्तो झुटा आश्वासन नबाड्ने र आफुले गर्न सक्ने कामहरु मात्र बोल्ने भएकाले आफ्नो अमुल्य मत दिएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए।








