चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।





तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसङ्ख्या भएको सांघाईमा सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्धरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ ।

‘अस्पताल भर्ना भएपछि बिरामीहरू गम्भीर अवस्थामा पुगेका थिए । मृत्युको मुख्य कारण दीर्घकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ । यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ सङ्क्रमित भेटिएका छन् ।








