देवचुली,
देवचुली नगरपालिकामा जेसिभीको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं १३ मा रहेको बोहुला खोलामा रहेको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिभीको ठक्करबाट सोही क्रसरमा काम गर्ने मजदुर महिलाको मृत्यु भएको हो । क्रसर भित्रै क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली १२ निवासी अन्दाजी ४० बर्षीया निर्मला कुमारी महतलाई जेसिभी पार्किङ्ग गर्ने क्रममा ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते महतको देवचुली अस्पताल दलदलेमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा हिजो साँझ ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने जेसिभी प्रहरी नियन्त्रणमा रहेको छ ।
ठक्कर दिने चालक देवचुली ४ निवासी १९ बर्षीय मनबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । चालकको सवारी चालक अनुमति पत्र समेत नरहेको स्रोतले जनाएको छ ।
