मुम्बई । ‘द कपिल शर्मा शो’ मा ‘गुत्थी’ र ‘डा. मशहुर गुलाटी’ को भुमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता तथा हास्यकलाकार सुनील ग्रोवरको स्वास्थ्यलाई लिएर ठूलो खबर बाहिरिएको छ ।
उनको मुम्बईको एशियन हार्ट इन्स्टिच्युटमा मुटुको शल्यक्रिया गरिएको छ । रिपोर्टका अनुसार उनको मुटुमा दुईपटक ब्लकेज भएका कारण शल्यक्रिया गर्नुपरेको थियो । कामका कारण शल्यक्रिया ढिलो भएपनि सुनील खतरामुक्त रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
विरल भयानीले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गर्दै लेखेका छन् ‘सुनील ग्रोवरको मुम्बईस्थित एशियन अस्पतालमा मुटुको शल्यक्रिया गरिएको छ । उनी अहिले निको भइरहेका छन् । सुनीलका डाक्टरहरुले उनी अहिले खतरामुक्त रहेको र स्वास्थ्यमा पनि धेरै सुधार भइरहेको बताएका छन् । सुनीलका लागि प्राथना गर्नुस् ।’
