Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

के हो मुक्तक ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

आज माघ १८ गते मुक्तक दिवस । नेपाली साहित्यमा मुक्तक छोटो र मीठो अभिव्यक्ति दिने साहित्यिक विधा हो । धेरै स्रष्टाले मुक्तक रचना गर्ने र वाचन गर्ने गर्छन् । कतिपय स्रष्टा साहित्य सिर्जनाको रहरले सैद्धान्तिक जानकारीबिना नै मुक्तक लेखिरहेका छन् । त्यसले गर्दा मुक्तक जति चोटिलो हुनुपर्ने हो त्यस्तो नहुन सक्छ । मुक्तक दिवसको सन्दर्भमा नेपाली मुक्तको परिचय, सैद्धान्तिक आधार र विकासबारे प्राध्यापक डाक्टर घनश्याम परिश्रमीसँग शिखर मोहनले गरेको कुराकानी उनकै शब्दमा :

 

के हो मुक्तक ?
मुक्तक कविताको एउटा छोटो प्रभेद हो, सानो प्रभेद हो । मुक्तक भन्ने शब्दले नै एउटा छोटो, स्वतन्त्र रचना भन्ने अर्थ बुझाउँछ । यो संस्कृत शब्द हो ।
नेपाली समालोचना परम्परामा २ पङ्क्तिदेखि करिब ७ पङ्क्तिसम्मका छोटा रचनाहरूलाई मुक्तक भनेको पाइन्छ । तर अहिले त्यो मान्यताभन्दा अलि पृथक् किसिमले विकसित भएको छ । आधुनिक नेपाली मुक्तक चतुष्पदी शैलीको छ । चतुष्पदीमा पनि फारसीको रुबाईसित मिल्ने खालको छ । पहिलो र दोस्रा पङ्क्तिमा अनुप्रास मिल्ने, तेस्रो पङ्क्तिमा अनुप्रास भत्किने र फेरि चौथो पङ्क्तिमा अनुप्रास मिल्ने हुन्छ । यसरी ४ पङ्क्तिमा लेखिने रचनालाई अहिले मुक्तकका रूपमा ग्रहण गरिएको छ; स्वीकार गरिएको छ ।

पूर्वीय साहित्य परम्परामा मुक्तक
यसका अतिरिक्त संस्कृत परम्परामा पनि आचार्य विश्वनाथले छन्दमुक्त रचना नै मुक्तक हो भनेका छन् । जुन छन्दमुक्त छ पद्यमुक्त छ त्यो मुक्तक हो भनेका छन् । ‘छन्दोबद्धम् परम पद्यम् ते न मुक्तेन मुक्तकम्’ भनेका छन् विश्वनाथले ।

तर अग्निपुराणमा चाहिँ ‘मुक्तकः एवैकश्चमत्कार: क्षम: सताम्​’ भनेको छ । मुक्तक एउटा श्लोकमा लेखिन्छ र यो चमत्कारपूर्ण हुन्छ, यसको प्रस्तुति चमत्कारपूर्ण हुनुपर्छ, एउटा श्लोकमा आफैँमा पूर्ण हुनुपर्छ अर्थात् चार पङ्क्तिमा पूर्ण हुनुपर्छ । त्यसैले अग्निपुराणको जुन परिभाषा छ त्यो परिभाषा अत्यन्त स्वाभाविक र उचित लाग्छ ।

किनकि मुक्तक वास्तवमा चार पङ्क्तिको अर्थात् एक श्लोकको हुन्छ र यसले चमत्कारपूर्ण अभिव्यक्ति दिन्छ । यो कि प्रहारात्मक हुन्छ या आह्लादात्मक हुन्छ । यो कुनै न कुनै रूपले कि चोटिलो प्रहार गर्ने खालको हुन्छ कि त मस्तिष्कलाई छुने या हृदयलाई छुने हुन्छ । यसले विकृति विसङ्गतिमाथि प्रहार गर्छ, त्यसले मस्तिष्कलाई छुन्छ । आह्लादात्मकमा चाहिँ प्रणयभाव, अन्य खुसी, प्रकृतिको सुन्दरता आदिको चित्रण गरेका र हृदयलाई छुने खालका हुन्छन् । यसरी प्रहारात्मक र आह्लादात्मक तरिकाले चार पङ्क्तिमा सिर्जना गरिएको रचनालाई अहिले मुक्तक मानिएको छ । आजका मुक्त यही खालका छन् ।

नेपालीमा मुक्तक लेखन
आजका मुक्तका बारेमा भन्नुपर्दा २०७० साल माघ १६ देखि १८ गतेसम्म ३ दिनको पोखरामा मुक्तक सम्मेलन भएको थियो । त्यसले एउटा घोषणापत्र जारी गरेको थियो । त्यो घोषणापत्रले–

मुक्तक चार पङ्क्तिको हुनुपर्छ, त्यो या त संस्कृत परम्पराको एक श्लोकमा हुनुपर्छ, या त अङ्ग्रेजी परम्पराको कट्रेन खालको हुनुपर्छ, या त रुबाई खालको हुनुपर्छ भनेको छ । रुबाई, कट्रेन र चतुष्पदी यी तीनवटाको एउटा मिश्रित रूप, एउटा मानक रूप नेपाली साहित्यमा मुक्तक बन्दै आएको छ, बनेको छ ।

समसामयिक नेपाली मुक्तकहरूमा समय र समाजलाई चित्रण गरिएको पाइन्छ । मानवीय चरित्र, विकृति, विसङ्गतिलाई चित्रण गरिएका छन् । यसका अतिरिक्त प्रणयभावका मुक्तकहरू पनि प्रशस्त लेखिएका छन् । त्यसको अतिरिक्त समय र समाजको विशृङ्खलता, विद्रूपता, विकृति र विसङ्गति अदिलाई बढीभन्दा बढी चित्रण गरेर लेखिएका छन् । यिनै कुरा प्रतिविम्बन गर्नेखालका विम्ब प्रतीकहरूको प्रयोग भएको पाइन्छ ।

नेपालीमा मुक्तक लेखनको सुरुवात

भीमदर्शन रोक्काले मुक्तकको चतुष्पदी शैलीलाई सुरुवात गरेका हुन् । त्यसपछि यसलाई भूपि शेरचन, हरिभक्त कटुवाल जस्ता साहित्यकारहरूले पछ्याउनुभयो । यसलाई मुक्तक नै नाम दिने काम चाहिँ कृष्णप्रसाद पराजुलीले गर्नुभयो । त्यसपछि उहाँको मुक्तकको सङ्ग्रह नै त्यसपछि आयो । यसअघि भीमदर्शन रोकाको पनि आएको हो । तर मुक्तक शैलीको रचना चाहिँ सिद्धिचरण श्रेष्ठले नै गरिसकेका थिए । उनको रुबाई शैलीको मुक्तकको रचना थियो । उनको ‘एउटी बाला’ भन्ने रचना छ त्यसमा उनको मुक्तक यस्तो छ–

काफल बेच्ने एउटी बाला
पुष्प गुलावी उसको गाला
छोऊँ छोऊँ मनमा लाग्यो
उसको त्यो कोमल छाला । …..(सिद्धि चरण श्रेष्ठ)

शिद्धिचरण श्रेष्ठले रुबाई शैली अपनाएर मुक्तकको रचना गरेको भए पनि मुक्तक भनेर चार चार पङ्क्तिका भनेर उनले लेखेका होइनन् । त्यसैले भीमदर्शन रोकाबाट नै मुक्तकको सुरुवात भएको हो भन्ने मान्यता छ ।
यस किसिमको चतुष्पदी रचनालाई मुक्तक भनेर नेपालीमा नामकरण गर्ने काम चाहिँ कृष्णप्रसाद पराजुलीले गरेका हुन् ।

आऊ घावै घाउ भएको छाती कुल्चेर आऊ तिमी
म सब पीडा सहुँला आँखामा गुराँस फुलाऊ तिमी
आऊ अझ मेरा झरेका सपनाका पातहरूमा टेकेर
क्यै चाहिन्न मलाई आँशुका गीत भएर जाऊ तिमी …..(कृष्णप्रसाद पराजुली)

यस्तै चोटिला विम्ब प्रयोग गर्ने कवि भूपि शेरचनले पनि मुक्तक लेखेन र उन्नयनका लागि योगदान दिएका छन् ।

प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मनलाग्छ
प्रत्येक रङ्गीन चरालाई वनको मजुर भन्न मनलाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त
बाटामा कुनै गधा देखे पनि हजुर भन्न मनलाग्छ । ….(भूपि शेरचन)

घनश्याम परिश्रमीको ‘पुष्पम् पत्रम्’ मुक्तक सङ्ग्रहका केही मुक्तक

गाउँ बुझ्नै खोज्दैनन् संवेदनाहीन सहरियाहरू
दुर्गम अँध्यारै छन्, बलेका छैनन् अझै दियाहरू
सरकार लोकतान्त्रिक सत्ताको गाडी दिशाहीन हाँक्दैछ
हर क्षेत्रमा पसेका छन् र मोटाएका छन् माफियाहरू
१

जिन्दगी हो जिन्दगीका मोडहरू अनेक छन्
भागा, गुणा, घटाउ र जोडहरू अनेक छन्
सबै राम्रो जिन्दगीको कहाँ होला कहानी र !
संरचना हुन्छन् अनि तोडफोडहरू अनेक छन् ।
२
शोकलाई शक्तिमा बदल्नु जरुरी छ
विपदलाई सहासले जित्नु जरुरी छ
विनाशकारी लीला हेर्दै रोएर हुँदैन
संरचनाको सत्सङ्कल्प गर्नु जरुरी छ ।
३

कहिले कसैको इमानदार छात्र भइयो
कहिले कसैको विश्वासको पात्र भइयो
यसरी बिते जीवनका केही दशक मित्र !
अहिले कसैको बा, कसैको बाजे मात्र भइयो
९

बालुवामा पानी हाल्ने काम भएको छ,
दूध खुवाई सर्प पाल्ने काम भएको छ
अँध्यारै छन् अन्धकार व्याप्त ठाउँहरू
उज्यालोमा बत्ती बाल्ने काम भएको छ
१२

कतै पीडा छ गरिबी र भोकमरीको
कतै सन्त्रस छ आतङ्क मनपरीको
सुनिन्छ सुन भनेर पित्तल बेच्दैछन्
कतै सञ्जाल छ व्यापारमा जौहारमा
२३९

मनको मर्म बुझिदिने मनहरू कमै हुन्छन्
उदार बनेर देखिने मनहरू कमै हुन्छन्
गर्दै कुरा आदर्शका उपदेश दिन्छन् अरूलाई
आफ्नै दुःखमा सम्हालिने मनहरू कमै हुन्छन् ।
२४०

अतः चार हरफमा रचिएको आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना मुक्तक हो । यसको पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ । मुक्तकका पहिलो पङ्क्तिले के विषयमा भन्ने हो त्यसको उठान गर्छ र दोस्रो पङ्क्तिले उठानलाई थप समर्थन गर्छ । समग्रमा, सुरुका दुई पङ्क्तिले पृष्ठभूमि तयार पार्छ । अनि तेस्रो पङ्क्ति स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार र झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ । चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ । मुक्तक पढ्दा सधैँ सररर, बहाबसँगै पढ्न सकिने खालको ओजपूर्ण हुनुपर्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved