नेकपा एमालेको केन्द्रीय महाधिवेशन आउन अब १० दिन मात्र बाँकी छ । एमालेभित्रको चरम शक्ति संघर्ष यही १० दिनमा देखिने पक्का छ । यसको छनक महाधिवेशन प्रतिनिधि छनोटकै क्रममा पनि देखियो । प्रतिनिधि चयनका क्रममा धेरैजसो जिल्लामा समानान्तर सूचीसहित संस्थापन र इतर समूह आमनेसामने भए भने केही जिल्लामा विवादका कारण अझै पनि प्रतिनिधि चयन हुन सकेको छैन । करिब साढे ६ लाख सदस्यबाट चयन भएर आउने करिब २२ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नै अबको एमाले नेतृत्व चयन गर्नेछन् । त्यसैले पनि महाधिवेशन प्रतिनिधि चयनमा खिचातानी र विवाद सामान्य मानिन्छ ।


एमालेमा अहिले केपी शर्मा ओली र विद्यादेवी भण्डारीको २ समानान्तर कित्ता छ । केही समयअघिसम्म अनौपचारिक रूपमा मात्र देखिएको यो कित्ताकाट अहिले केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्मै पुगेको छ । अबको नेतृत्वका लागि ओली आफैँ सक्रिय छन् भने भण्डारीले ईश्वर पोखरेललाई अघि सारेर आफू ब्याक सपोर्टमा बसेकी छिन् । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा ओली र पोखरेल अध्यक्षका दाबेदार हुन् । तर, उनीहरूको टिममा को–को हुन्छन् भन्ने अहिलेसम्म तय भइसकेको छैन । महाधिवेशन पदाधिकारीको मतभारअनुसार आफूलाई सहज हुने नेता भित्र्याएर नेतृत्वमा पुग्ने ओली र पोखरेलको चाहना देखिएको छ । दुवै खेमामा अहिले पदको लोभ देखाएर शीर्ष नेताहरूलाई आफ्नो प्यानलमा तान्ने होडबाजी चलेको छ ।



शीर्ष नेता भाग पर्खिंदै, सकसमा महाधिवेशन प्रतिनिधि

शंकर पोखरेल, रघुवीर महासेठ, विष्णु रिमाल, प्रदीप ज्ञवाली, पद्माकुमारी अर्याल, लेखराज भट्टलगायत हेभीवेट नेताहरू ओलीको पक्षमा सुरुदेखि नै छन् र महाधिवेशनमा उनीहरूको सहयोग ओलीलाई नै हुने पक्का छ । उता, पोखरेलसँग सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, युवराज ज्ञवाली, कर्ण थापा, गोकर्ण विष्ट, उषाकिरण तिमल्सिनालगायत नेताहरू छन् । यी शीर्ष नेतासँगै जिल्लाका अन्य नेता पनि जोडिने भएकाले अहिलेकै अवस्थामा कसको तराजु भारी छ भनेर आकलन गर्न नसकिने एमालेका एक नेता बताउँछन् । कुन प्यानलमा लागौँ भनेर अलमलमा परेका एक केन्द्रीय सदस्य अन्तिम समयसम्म पर्खिने र त्यसपछि आफ्नो कित्ता क्लियर गर्ने बताउँछन् । ‘अब अहिले नै कुन कित्तामा भनेर कसरी भन्नु ! प्रतिनिधि टुंगिएकै छैनन्, तानातान बल्ल सुरु भएको छ । केही दिन अझै पर्खिऔँ । त्यसपछि पाइला चाल्नुपर्छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘यस पटकचाहिँ चितवन महाधिवेशन जसरी सहजै नेतृत्व टुंगिने देखिँदैन ।’
१०औँ महाधिवशेनमा अध्यक्ष पदका लागि ओली र भीम रावल मैदानमा थिए, तर ओलीले राउवललाई सहजै पराजित गरे । २२३ मत मात्र पाएका रावलविरुद्ध ओलीले १ हजार ८३७ मत ल्याएका थिए । त्यसबेला रावलले सुदूरपश्चिममा रहेको आफ्नो पकेट मत र ओलीविरुद्ध रुष्ट पक्षको मतको भरमा अध्यक्षमा दाबेदारी दिएका थिए । तर, यस पटक अवस्था फरक छ । अहिले एमालेमा एउटा भूगोल मात्र नभई स्पष्ट रूपमै २ धार तयार भएको छ । अहिलेसम्म खुलेका नेताहरू पनि ‘भजनमण्डली’ बनिहाल्ने मनस्थितिमा छैनन् । ओलीको छत्रछाया पाएका केही सीमित नेताहरू आँखा चिम्लिएर ओलीको समर्थनमा देखिएका छन् । तर, राजनीतिक भविष्य सुनिश्चित गर्ने सोचमा रहेका नेताहरू भने अन्तिम समयसम्म पर्खिने र जता जाँदा जित सुनिश्चित हुन्छ, उतै जाने तयारीमा छन् ।
महाधिवेशन प्रतिनिधि चयनका क्रममा पनि यही ढाँचा देखियो । कतै खुलमखुला समानान्तर सूची बनाएरै नेताहरू प्रतिनिधिको निर्वाचनमा होमिए भने कतै पहिला प्रतिनिधि बन्ने, त्यसपछि कित्ता क्लियर गर्ने भन्दै तटस्थ बनेर प्रतिनिधिमा चयन भए । प्रतिनिधि चयनमा संस्थापन पक्ष (ओली समूह)ले जबरजस्ती सर्वसम्मत गर्न दिएको दबाबले पनि ११औँ महाधिवेशनमा नेतृत्वको लडाइँ टक्करको हुने पक्का छ ।
०००
दुवै पक्षको समानान्तर प्रचार र छलफल
दुवै पक्षलाई आफ्नो शक्ति कति छ भन्ने यकिन नभए पनि आ–आफ्नो प्रचार र छलफल भने समानान्तर रूपमा अघि बढाएका छन् । ओलीका पक्षमा खुलेरै लागेका नेताहरू आफूसम्बद्ध संघसंस्था र स्थानीय नताहरूसामु ओली निर्विकल्प रहेको बताउँदै महाधिवेशन आफ्नो पक्षमा पार्ने प्रयासमा छन् भने पोखरेल समूह भने पहिला आफ्नो पोजिसन क्लियर गरेर मात्र अभिव्यक्ति सार्वजनिक गर्ने गरी सामाजिक सञ्जालमार्फत् प्रचारमा लागेका छन् । तर, ओलीका पछिल्ला अभिव्यक्तिमा सहमति, संवाद, सहकार्य जस्ता भाषा प्रयोग हुनुले उनी पक्षका नेताहरूले ढुक्कका भाषण दिए पनि अवस्था त्यति सहज नभएको एमाले निकट विश्लेषकहरूको बुझाइ छ । पोखरेल खेमाका नेताहरूले देखाएको शान्त स्वभावले उनीहरूको आन्तरिक तयारी भव्य रहेको अनुमान विश्लेषकहरूको छ ।
राजनीतिमा सक्रिय हुने उद्देश्यका साथ गत भदौमा विद्यादेवी भण्डारीले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयका नाममा खोलेको सम्पर्क कार्यालयलाई नै अहिले पोखरेलले प्रयोग गरिरहेका छन् । सोमबार मात्र उक्त कार्यालयमा पोखरेल पक्षका केही शीर्ष नेताहरू भेला भएर प्रतिनिधि छनोटका सन्दर्भमा समीक्षासहित महाधिवेशन तयारीबारे छलफल गरेका थिए । थापागाउँमा रहेको उक्त कार्यालयमा सोमबार पोखरेलसहित सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायत नेताहरू भेला भएका थिए ।









