काठमाडौँ । प्रतिनिधिसभा चुनाव आउन अब ३ महिना मात्र बाँकी छ । निर्वाचन आयोग चुनावकेन्द्रित तयारीमा जुटिसकेको छ भने सबैजसो राजनीतिक दल पनि निर्वाचनमा होमिएका छन् । सरकार जसरी पनि २१ फागुनमै निर्वाचन गराउनेमा दृढ देखिन्छ । तर, शान्ति सुरक्षाको सवालमा राजनीतिक दलहरू भने अझै सशंकित छन् । कारण हो– जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र सोही मौकामा फरार भएका कैदीबन्दी । यही कारण देखाउँदै दलहरू निर्वाचनको तयारीप्रति सरकारमाथि प्रश्न उठाइरहेका छन् ।


प्रधानमन्त्री सुशीला कार्कीसँग विभिन्न चरणमा विभिन्न तहका नेताहरूको भेटका क्रममा पनि यो विषय उठ्दै आएको छ । आन्दोलनका क्रममा लुटिएका हतियारहरू नै पछिल्लो समय लुटपाटमा प्रयोग भएको र फरार कैदीहरू आपराधिक गतिविधिमा सक्रिय भएको तथ्य प्रहरीले सार्वजनिक गरेपछि चुनाव केन्द्रित सुरक्षाप्रति दलहरू झनै संशकित देखिएका छन् । तर, गृहमन्त्री ओमप्रकाश अर्यालले ११ मंसिरमा राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिमा छलफलमा लुटिएका हतियार र फरार कैदीबन्दीकै कारण चुनावी वातावरण छैन भन्नु गलत भएको बताएका थिए । शान्तिपूर्ण वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको र दिनहुँ फरार कैदी तथा लुटिएका हतियार नियन्त्रण भइरहेकाले चुनावी सुरक्षाप्रति ढुक्क हुन भनेका थिए ।



प्रहरी प्रधान कार्यालयले डिआइजी दीपक रेग्मीको नेतृत्वमा जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे छानबिन गर्न एउटा समिति बनाएको थियो । उक्त समितिले बुझाएको रिपोर्टअनुसार १ हजार २८१ थान हतियार र १ हजार ६८७ थान गोली लुटिएको थियो । त्यस्तै, १४ हजार ५४९ कैदी फरार भएका थिए । आन्दोनको साढे २ महिनापछि पनि फरार सबै कैदी पक्राउ परेका छैनन् भने लुटिएका हतियार पनि बरामद हुन बाँकी नै छ । सरकारले अहिले यसका लागि विशेष कार्यक्रम नै सञ्चालन गरिरहेको छ ।

समाजमा शान्ति सुरक्षाको महŒवपूर्ण जिम्मेवारी पाएको नेपाल प्रहरीले आमजनतासँगको सहकार्यमा उच्च मनोबलका साथ कैदीहरूको खोजी कार्यमा लागिरहेको जनाएको छ । प्रहरी प्रवक्ता अबि नारायण काफ्ले फरार कैदी र लुटिएका हतियार बरामद गर्न विशेष कार्यक्रम सञ्चालन भइरहेको र अपेक्षित नतिजा प्राप्त भएको बताउँछन् । सरकारकै अद्यावधिक रिपोर्टअनुसार पनि ४ हजार ५०० कैदीबन्दी अझै फरार छन् भने ३५ प्रतिशत हतियार बरामद हुन बाँकी छ ।
४५०० कैदीबन्दी जेलबाहिरै
कारागार व्यवस्थापन विभागको पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोलनका क्रममा २८ वटा कारागारबाट फरार १४ हजार ५४९ कैदीमध्ये करिब ४ हजार ५०० जना अझै फरार छन् । विभागका अनुसार फरार भएकामध्ये ३ हजार ८९४ नेपाली, ५१७ भारतीय र ९४ विदेशी कैदीबन्दी अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । विभागले २६ भदौमा सार्वजनिक सूचनामार्फत् भागेका कैदीहरूलाई आफैँ फर्किन अनुरोध गर्दै नफर्किए कानुनबमोजिम हुने जनाएको थियो । उक्त सूचनापछि कतिपय कैदीबन्दी आफैँ फर्किएका थिए भने केहीलाई विभिन्न टोल, समाजका मानिसले समातेर प्रहरीलाई बुझाएका थिए । अहिले कारागार प्रशासन, नेपाल प्रहरी, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले फरार कैदी नियन्त्रणमा लिन विशेष सुरक्षा कारबाही सञ्चालन गरिरहेका छन् । तर, अपेक्षाकृत रूपमा कैदीबन्दी नियन्त्रणमा आउन नसकेको विभागले जनाएको छ ।
अपराधीकै नियन्त्रणमा छन् लुटिएका ३५ प्रतिशत हतियार
जेनजी आन्दोलनक्रममा लुटिएका हतियारबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डिआइजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा देशभरबाट १ हजार २८१ हतियार लुटिएका थिए भने त्यसमध्ये सबैभन्दा बढी १ हजार १७ थान हातियार काठमाडौँबाट मात्र लुटिएका थिए । लुटिएकामध्ये सटगन ११७ थान, पेस्तोल ३४६ थान, रिभल्भर ७५ थान, राइफल ५५४ थान, ग्यास गन १५९ थान तथा टियर ग्यास गन ३० थान रहेको प्रहरीको तथ्यांक छ । तर, कति हतियार बरामद भयो भन्ने एकिन विवरण प्रहरीले सार्वजनिक गरेको छैन । राष्ट्रियसभाको विधायन समितिमा निर्वाचन तयारीबारे ब्रिफिङ गर्दै गृहमन्त्री अर्यालले फरार कैदीहरूको विवरण दिए पनि सुरक्षाका कारण भन्दै बरामद हुन बाँकी हतियारको तथ्यांक प्रस्तुत गरेनन् ।
बरामद हुन बाँकी हतियारमध्ये टियर ग्यास गन, टियर ग्यासको संख्या धेरै रहेको जानकारी दिएका अर्यालले सुरक्षासम्बन्धी प्रोटोकल भन्दै कुन–कुन हतियार बरामद भयो र कति हतियार बरामद गर्न बाँकी छ भन्ने जानकारी दिन नमिल्ने बताएका थिए । प्रहरी प्रवक्ता काफ्ले भने करिब ३५ प्रतिशत हतियार बरामद हुन बाँकी रहेको बताउँछन् । ‘हराएका र लुटिएका हतियारमध्ये केही जलेका, फुटेका वा केही खोलामा फालिएको आशंका छ । दिनहुँ बरामद पनि हुँदै छन् । लुटिएकामध्ये करिब ३५ प्रतिशत हतियार रिकभरी हुन बाँकी छ,’ काफ्लेले भने ।
राप्रपाले माग्यो राजासहितको सर्वपक्षीय सम्मेलन
रास्वपाले भन्यो– चुनावका लागि सहयोग गर्छौं
प्रधानमन्त्री सुशीला कार्की बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिमण्डलसँग छलफल गर्दै । साैजन्य तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय / रासस
काठमाडौँ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपमै सफल बनाउन प्रधानमन्त्री सुशीला कार्की सक्रिय बनेकी छिन् । ११ मंसिरमा नेकपा एमालेका केही शीर्ष नेताहरूलाई बोलाएर छलफल गरेकी कार्कीले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिन् । शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा राप्रपाले ५ बुँदे ज्ञापनपत्र बुझाउँदै राजा, राजनीतिक दल र जेनजीबीच समझदारीको प्रस्ताव गरेको छ ।
जेनजी आन्दोलन २०८४ को चुनाव सार्न मात्र नभएकाले देशको समस्यालाई दीर्घकालीन रूपमै समाधान गर्न आवश्यक रहेको बताउँदै राप्रपाले ज्ञापनपत्रमार्फत् भनेको छ, ‘आगामी निर्वाचनअगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नुनपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेनजीलगायत पक्षधरहरू सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस् ।’ त्यस्तै, अन्तरजिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता, जेनजी प्रदर्शनमा सहभागी भएकै कारण पक्राउ गरी मुद्दा लगाउन रोक्नुपर्ने, सहिद परिवार, घाइतेहरूको माग अविलम्ब पूरा गर्नुपर्ने र असन्तुष्ट जेनजी समूहसँग वार्ता र संवादबाट वातावरण शान्त बनाउने प्रयास सरकारबाट हुनुपर्ने माग राप्रपाको छ ।
उता, रास्वपा भने चुनावमा पनि जाने र चुनावका लागि सरकारलाई सहयोग पनि गर्ने भएको छ । आइतबार नै प्रधानमन्त्रीसँग छलफल गरेको रास्वपाले निर्वाचनका लागि सरकारलाई सहयोग गर्न आफू तयार रहेको जनाएको हो । छलफलका लागि रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र सोविता गौतम बालुवाटार पुगेका थिए । रास्वपाका एक नेताका अनुसार छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भयरहित, निष्पक्ष निर्वाचन गराउन सरकारले सबै किसिमले तयारी गरिरहेको जानकारी दिएकी थिइन् भने रास्वपा नेताहरूले आफूहरूको पार्टी निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै सरकारलाई आवश्यक सहयोग गर्ने बताएका थिए ।









