काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी विभाजनले शक्ति नदिएको बताएकी छन् । पार्टीको मूल नेतृत्वले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको सहमति गरेपछि आज पत्रकार सम्मेलन गरेकी झाँक्रीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘विभाजनले किमार्थ शक्ति दिएन । त्यसैले मिल्नेसँग नै मिल्नुपर्छ, केही पनि नमिल्नेसँग एकता गर्न हुँदैन ।’


उनले देशभरिका समाजवादी पार्टीका कार्यकर्तालाई एकताको लागि आह्वान गरिन् । ‘देशभरका पार्टीका कार्यकर्ताका लागि सन्देश दिन आवश्यक छ, सामूहिक पाइला अघि बढाउँछौँ । सबैलाई गोलबद्ध हुन आग्रह गर्छु’, उनले भनिन् ।



त्यस्तै, उनले जेन–जीहरूलाई पनि सम्भव भएसम्म पार्टी खोलेर अगाडि बढ्न, त्यो सम्भव नभए पुराना पार्टीहरूमा हस्तक्षेप गर्न सुझाव दिइन् ।

झाँक्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा एसबीच पार्टी एकता हुँदा वाम आन्दोलन कमजोर हुने दाबी गरेका छिन् । ‘नेकपा बन्दा पार्टीभित्रको लोकतान्त्रिक जीवन समाप्त पर्यौँ । अहिले फेरि नेकपा एस र माओवादी एक हुँदा वाम आन्दोलन कमजोर हुन्छ । किनकि, त्यहाँ ओतलाग्ने मात्रै काम हुँदैछ, यसले पार्टी कमजोर हुन्छ’, उनले भनिन् । उनले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भए राज्यका प्रणाली कमजोर हुने बताइन् ।









