विविधताबीचको एकता नेपाली समाजको मौलिकता हो । यो एकता विभिन्न सांस्कृतिक चाडपर्वहरूमार्फत प्रकट भइरहेको हुन्छ । त्यसमध्ये हरेक वर्ष आश्विन शुक्ल पक्षका १५ दिनसम्म मनाइने बडादसैँले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकसूत्रमा बाँध्ने गरेको छ । यतिबेला यही ६ असोजदेखि विश्वभरका नेपालीहरूले आफ्ना दुःख कष्ट बिर्सेर वा थातिराखेर बडादसैँ मनाइरहेका छन् ।


यो पर्व १५ दिनसम्म मनाउने चलन भए पनि घटस्थापनादेखि विजयादशमीसम्मको १० दिनलाई विशेष रूपमा मनाइन्छ । यही १० दिनको चाड भएका कारण बडादसैँ भनिएको हो । बडादसैँका १० दिनमध्ये पनि फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका ४ दिनलाई अझ महत्व दिने गरिएको छ । नेपालमा मनाइने केही चाडपर्वहरू भारतबाट विस्तार हुँदै भित्रिएको देखिन्छ भने केही चाडपर्वहरू तिब्बतबाट विस्तार हुँदै भित्रिएको देखिन्छ । अझ केही चाडपर्वहरू त अरबबाट र युरोपबाट विस्तार हुँदै भित्रिएको देखिन्छ ।



तर बडादसैँ यस्तो चाड हो, जो नेपालबाट विस्तार भई विश्वका धेरै देशहरूमा पुगेको देखिन्छ । नेपालीहरूको जुन जुन देशमा बाक्लो उपस्थिति छ, तीमध्ये कतिपय देशका सरकारले समेत बडादसैँका बेला शुभकामना प्रकट गर्ने प्रचलन छ । उदाहरणका लागि छिमेकी देश भुटानमा पनि बडादसैँका अवसरमा राज्यस्तरबाटै ठुलो गतिवधि हुने गर्छ । केही दशकअघि भारतमा गाभिएको सिक्किममा होस् या भारतका अन्य पहाडी राज्यहरू हिमाचल तथा उत्तराखण्डमा पनि बडादसैँको रमझम करिब करिब नेपालको जस्तै हुने गर्छ ।

नेपालमा मनाइने चाडपर्वहरूले समाज तथा समुदायहरूलाई एकआपसमा जोड्ने भूमिका निर्वाह गरेका छन् । त्यसमध्ये बडादसैँ मुख्य चाड हो । सांस्कृतिक, धार्मिक, जातीय तथा सामाजिक विविधतासँगै बडादसैँ मनाउने शैलीमा पनि विविधता देखिनु स्वभाविकै हो । तर टाढा टाढा रहेका आफन्तहरू एक ठाउँमा भेला भई मिठो मसिनो खाने, मनोरञ्जनात्मक क्रियाकलाप गर्ने लगायतका प्रचलनमा भने को हिन्दु, को मुसलमान, को बौद्ध, को प्रकृति पूजक, को हिमाली, को मधेसी ? भनेर छुट्याउन सकिने अवस्था देखिन्न । त्यसैले बडादसैँलाई धार्मिक पर्वभन्दा पनि सांस्कृतिक पर्व मानिएको हो ।
सरकार स्वयंले आफ्ना कर्मचारीलाई दसैँ खर्चसमेत दिएर लामो बिदा प्रदान गर्ने भएकोले मात्रै होइन राज्य स्वयं संलग्न हुने भएकोले बडादसैँ नेपालको सबैभन्दा ठुलो पर्व मात्रै होइन, सर्वाधिक खर्चिलो पर्व पनि हो । गरिबीको रेखामुनि रहेका नेपालीहरूले आर्थिक अभावका कारण खुलेर दसैँ मान्न सक्ने अवस्था छैन । हरेक दसैँमा ऋण बढ्दै जाने बिडम्बनाको अन्त्य जरुरी छ । नेपालमा मनाइने चाडपर्वको तुलनामा बडादसैँपर्व अली खर्चिलो र भड्किलो भएको कुरा सत्य हो ।
यसको कारण पनि प्रष्ट छ । किनकि इतिहासको लामो कालखण्डदेखि राज्यले नै बडादसैँ धुमधामका साथ मनाउन प्रोत्साहन गर्दै आएको छ । जसका कारण देशमा वर्षभरी जति आर्थिक गतिविधि हुने गर्छ, त्यसको करिब एकचौथाइ आर्थिक गतिविधि बडादसैँका अवसरमा मात्रै हुने गर्छ । निश्चय नै यसपटकको बडादसैँ गत २३ र २४ भदौमा देशमा भएको ज्यादै दुःखद् घटनाका कारण खल्लो बनेको यथार्थलाई कसैले पनि बिर्सनु हुन्न ।
जनसंख्याको निकै ठुलो हिस्सा आफन्त गुमाएका कारण शोकमा छ । सयौँ बाबुआमाका छोराछोरीहरू अस्पतालको बेडमा छटपटाइरहेका छन् । हजारौँको घर जलेर खरानी बनेको छ । कैयौँको धनसम्पत्ति लुटपाट भएको छ । हजारौँ अपराधीहरू जेल तोडेर सहरका टोलटोल तथा गाउँगाउँमा प्रवेश गरेका कारण सर्वसाधारण जनताले अमनचयनको स्वास फेर्न पाएका छैनन् । हजारौँका सवारी साधन जलेका छन् । लाखौँको रोजगारी गुमेको छ ।
एक हिसाबले सिंगो नेपाली समाज राष्ट्रिय शोकबाट अझै उत्रिसकेको छैन । अर्कोतर्फ बडादसैँको अवधिमा समेत मनसुन सक्रिय भएका कारण सडक यातायात पटकपटक अवरुद्ध हुने गरेको छ । निर्धारित समयमा गन्तव्यमा पुग्न सकिने अवस्था छैन । आन्दोलनको माध्यमबाट साविकको सरकार ढलेपछि गठन भएको नयाँ अन्तरिम सरकारले परिस्थितिलाई काबुमा ल्याउन भ्याइसकेको छैन । काला बजारियाहरूले मौकामा चौका हानिरहेका छन् ।
यस्ता कठिन परिस्थिति हामी नेपालीहरूको नियति नै बनिसकेको छ । तर जस्तासुकै कठिन परिस्थितिलाई पनि संयमतापूर्वक सामाना गर्दै आफ्ना मौलिक चाडपर्वलाई निरन्तरता दिने हामी नेपालीको विशेषता नै हो । बडादसैँ २०८२ को अवसरमा हार्दिक मंगलमय शुभकामना !








