काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ५ जनालाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।


आइतबार नियुक्त भएका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा मदन परियार, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा संगीता कौशल मिश्रा र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेल नियुक्त भएका छन् ।

यसअघि नै रामेश्वर खनाल अर्थमन्त्री, ओमप्रकाश अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएर जिम्मेवारी सम्हालिसकेका छन् ।









