मुम्बई । अभिनेत्री तथा बिजेपी सांसद कंगना रनावतले आफूमाथि चलिरहेको मानहानि उजुरीलाई रद्द गरीपाउँ भनी सुप्रिम कोर्टमा दिएको निवेदनलाई अदालतले अस्वीकार गरेको छ । सन् २०२१ मा भएको किसान आन्दोलनसँग जोडिएको विषयमा उनले मानहानिको उजुुरी अदालतमा दिएकी थिइन् ।


कंगनाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै किसान आन्दोलनविरुद्ध विवादित बयान दिएकी थिइन् । अदालतमा उपस्थित कंगनाका वकिलले कंगनाले एक ट्विटलाई रि–ट्विट मात्र गरेको भन्दै यो सामान्य कुरामा अदालतले निवेदनलाई अस्वीकार नगर्नुपर्ने दाबी गरेका थिए । उनको रि–ट्विटलाई अन्य व्यक्तिले पनि रि–ट्विट गरेका थिए ।



अदालतले कंगनाको रि–ट्विटलाई ‘रि–ट्विट’ भन्न नमिल्ने भन्दै यसलाई कंगनाले ‘आफ्नो तर्फबाट मसला’ प्रयोग गरेको जनाएको छ । उसले कुनै पनि हालतमा कंगनाको पोस्टलाई साधारण पोस्ट भन्न नमिल्ने बताएको छ । ‘यो ट्रायलको विषय हो । तपाईं तल्लो अदालतमा आफ्नो कुरा राख्न सक्नुहुन्छ’, अदालतले भनेको छ ।

सन् २०२१ मा पञ्जाबको बठिन्डा कोर्टमा ७३ वर्षीया महिन्दर कोरले कंगनाविरुद्ध मानहानिको उजुरी दर्ता गराएका थिए । उजुरीमा कंगनाले एक पोस्टलाई रि–ट्विट गर्दै आफूविरुद्ध टिप्पणी गरेको र त्यो टिप्पणीले आफ्नो मानहानी भएको उल्लेख गरेका थिए । कंगनाले मन्दिरको फोटोयुक्त ट्विटलाई रि–ट्विट गर्दै ‘उनी बिलिकिस बानो हजुरआमा हुन्, जो शाहीन बाग प्रदर्शनको हिस्सा थिइन् । उनी १०० रुपैयाँमा उपलब्ध हुन्छिन्’ लेखेकी थिइन् ।








