काठमाडौं । चलचित्र संघले जेनजी आन्दोलनका क्रममा देशभरका चलचित्र घरमा पुगेको क्षतिको विवरण संकलन गरेको छ ।


शनिबार बसेको संघको बैठकले ४ हलमा भएको आगजनी र तोडफोडबाट १७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।



धेरै क्षति बिराटनगरस्थित भाटभटेनीमा रहेको क्यूएफएक्सलाई पुगेको छ । भवन पूर्णरुपमा जलेको छ । त्यहाँभित्र रहेको हललाई मात्र १५ करोड रुपैयाँको क्षति पुगेको छ ।

गोंगबुस्थित ल्होत्से मलको भुइँतलामा रहेको आइएनआईको मल्टिप्लेक्सको टिकट काउन्टरको बुथमा गरिएको आगजनी र तोडफोडले क्षति पुगेको छ । आगजनीले ६ तलामाथि रहेको हलको उपकरणमा असर परेको छ ।
क्यूएफएक्सको भक्तपुर र बुटवलका हलको बाहिर रहेका टिकट काउन्टर पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ‘कूल १७ करोड बराबरको क्षति पुगेको छ’ चलचित्र संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले भने ।
उनका अनुसार, केही दिन अझै हल खुल्नेछैन । ‘अवस्था अझै संवेदनशिल भएकाले तत्काल हल खुल्नेछैनन्’ उनले भने । हल कहिले खोल्नेबारे निर्णय गर्न संघको बैठक केही दिनमा पुनः बस्नेछ ।
अहिले मुलुकभर १६५ फिल्म हल छन् ।








