मुम्बई । दिल्लीको उच्च अदालतले बिहीबार अभिनेत्री ऐश्वर्या राय बच्चनको व्यक्तित्व र प्रचारको अधिकारको रक्षा गर्दै विभिन्न संस्थाहरूलाई ऐश्वर्याको अनुमतिबिना उनको नाम, तस्बिर र स्वरलाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्न रोक लगाएको छ । उसले सेलिब्रेटीको पहिचानको अनधिकृत प्रयोगले व्यावसायिक हानि मात्र नभई सम्मानपूर्वक बाँच्ने उनीहरूको अधिकारको हनन गरेको जनाएको छ ।


न्यायाधीश तेजस कारियाको इजलासले बच्चनको नाम, तस्बिर, स्वर र अन्य विशिष्ट व्यक्तिको विशेषताको सुरक्षाका लागि दायर गरिएको निवेदनमा यो आदेश दिएको हो । ऐश्वर्याले विभिन्न व्यक्तिहरूले आफ्नो नाम, तस्बिर, स्वर र भिडियोलाई गैरकानुनी व्यावसायिक उद्देश्यका लागि प्रयोग गरेर, भिडियो तथा अश्लील सामग्रीमा एआई र अन्य विधिमार्फत आफ्नो छवि बिगारेर व्यक्तिगत अधिकार उल्लंघन गरेको भन्दै निवेदन दिएकी थिइन् ।



आफ्नो १६ पृष्ठको आदेशमा न्यायाधीशले संस्थाहरूलाई अभिनेत्रीको व्यक्तित्व अधिकार उल्लंघन गर्ने अनलाइन लिंकहरू ७२ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । उनले आदेशमा उनको व्यक्तित्वको अनधिकृत प्रयोगले जनतालाई भ्रमित गर्ने र उनको समर्थकमाझ गलत छाप सिर्जना हुने उल्लेख गरेका छन् ।

‘जब कुनै प्रख्यात व्यक्तिको पहिचान उनीहरूको सहमति वा अधिकारबिना प्रयोग गरिन्छ, यसले सम्बन्धित व्यक्तिलाई व्यावसायिक हानि मात्र पुर्याउँदैन, सम्मानका साथ बाँच्न पाउने उनीहरूको अधिकारलाई पनि असर गर्छ । अर्को शब्दमा भन्नुपर्दा व्यक्तिको व्यक्तित्वका गुणहरूको अनधिकृत शोषणको २ पक्षहरू हुन सक्छन्, पहिलो, उनीहरूको व्यक्तित्वका गुणहरूलाई व्यावसायिक रूपमा शोषण हुनबाट जोगाउने उनीहरूको अधिकारको उल्लंघन र दोस्रो, उनीहरूको गोपनीयताको अधिकारको उल्लंघन, जसले गर्दा उनीहरूको सम्मानका लागि बाँच्ने अधिकारलाई कमजोर बनाउँछ’, आदेशमा भनिएको छ ।
न्यायाधीशले कसैको व्यक्तित्व अधिकारको अनधिकृत शोषणको यस्ता मुद्दाहरूमा अदालतहरूले त्यसलाई आँखा चिम्लने बनाउन नसक्ने र अनधिकृत शोषणबाट हुने कुनै पनि हानिबाट पीडित पक्षहरूलाई बचाउन सुरक्षा दिने उल्लेख गरेका छन् । तेजसकै इजलासले अभिनेता अभिषेक बच्चनको व्यक्तित्व र प्रचार अधिकारको रक्षा गर्ने आदेश जारी गर्ने बताएको एकदिनपछि ऐश्वर्याको पक्षमा आदेश आएको हो ।








