मुम्बई । आफ्नो तस्बिरलाई विभिन्न अनलाइन कम्पनीहरूले ब्रान्डका नाममा दुरुपयोग गरेको भन्दै अभिनेत्री सोनाक्षी सिन्हाले आपत्ति जनाएकी छन् । उनले इन्स्टाग्राममा एक पोस्ट लेख्दै तस्बिर दुरुपयोग नगर्न चेतावनी दिएकी छन् । सोनाक्षी प्रायः अनलाइनबाटै सामान किन्छिन् । तर यसपटक भने आफू छक्क परेको प्रतिक्रिया दिएकी छन् । ‘म अनलाइनबाटै सामान किन्ने भएकाले धेरै अनलाइनहरूमा मेरा तस्बिर देखिएपछि आफूलाई रोक्न सकिनँ । तस्बिर प्रयोगका लागि न त मसँग अनुमति लिइएको छ, न त कुनै शिष्टाचार । यो कसरी स्वीकार्य हुन्छ ?’, उनले प्रश्न गरेकी छन् ।


उनले आफू र अन्य कलाकारहरूले कुनै पहिरन वा गहना लगाउँदा ब्रान्डहरूलाई ट्याग र क्रेडिट दिने गरेको उल्लेख गर्दै त्यो शिष्टाचारलाई अन्य तरिकाले व्याख्या नगरिएको बताइन् । ‘तर यो अलिक बढी विस्तार भइरहेको छ । के हामी नैतिकता कायम राख्न सक्छौँ,’ उनले लेखेकी छन् । सोनाक्षीले ब्रान्डहरूलाई आफ्ना प्लेटफर्मबाट तुरुन्तै तस्बिर हटाउन चेतावनी दिएकी छन् । ‘मैले तपाईंलाई फोन गर्नुअघि नै मेरो तस्बिर हटाइदिनुहोस् । अथवा मलाई मेरो इनभ्वाइस कहाँ पठाउन सक्छु मलाई जानकारी दिनुहोस्,’ उनले लेखेकी छन् ।











