Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चाउचाउ खाजा र ‘चाउचाउकै भात’ देखि ब्रेकफास्ट र मासुभातसम्म

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ६ महिना अगाडि

काठमाडौँ । कलाकारद्वय हरिवंश आचार्य र सलोन बस्नेतले २ पुस्ताको प्रतिनिधित्व गर्छन् । प्रहसन हुँदै टेलिफिल्म र फिल्ममा पाइला चालेका हरिवंश र बालकलाकारका रूपमा फिल्ममा पाइला चालेर ‘हिरो’ बनेका सलोनबीच सुटिङको खानाको विषयमा एउटा समानता छ । अर्थात् यी दुवै कलाकारले कुनै समय सुटिङ सेटमा राम्रै मात्रामा चाउचाउ खाना र खाजाकै रूपमा खाए । समय, प्रविधि र लगानीकर्ता फेरिएसँगै अहिले सुटिङको खानाको ‘आइटम’ पनि फेरिएको छ ।

हरिवंश कुनै समय टेलिफिल्म र फिल्मको सुटिङमा चाउचाउ अनिवार्य खान्की बनेको सम्झन्छन् । ‘पहिला सस्तो खालका खानेकुराहरू खाइन्थ्यो । त्यसमा चाउचाउ त अनिवार्य जस्तै थियो । चाउचाउ खाएर काम गर्दा पनि कहिल्यै बिरामी परिनँ,’ हरिवंश भन्छन् ।

सलोनको अनुभव अलिक भिन्न छ । ‘कुनै बेला नेपाली फिल्ममा चाउचाउ धेरै हाबी थियो । मैले बालकलाकारका रूपमा काम गर्दा ‘मिनरल वाटर’ ठुलो विषय हुन्थ्यो । किनकी ‘मिनरल वाटर’ हत्तपत्त पाइँदैनथ्यो । जार पनि दुर्लभ नै थियो । वरपर जे उपलब्ध छ, त्यसैलाई नै प्रयोग गथ्र्यौं,’ सलोन भन्छन् ।

हरिवंश र सलोनले भने जस्तो ‘चाउचाउ’ अहिले सुटिङको किचन मेन्युमा कमै मात्र भेटिन्छ । किनकी प्रोडक्सन म्यानेजरले किचनलाई दिएको बजेटसँगै खानामा विविधता आइसकेको छ । जसकारण कलाकारदेखि प्राविधिकसम्मले स्वस्थ खाना खान पाइरहेका छन् ।

खानेकुरामा छैन गुनासो

शरीरमा केही कुराले बेफाइदा गर्दैन भने त्यसको गुनासो सुनिँदैन । फिल्मको सुटिङ सेटमा पाक्ने खानेकुरालाई लिएर प्राविधिक हुन् या कलाकार कसैको पनि गुनासो कहीँ कतै सुनिँदैन ।

अभिनेता हरिवंश किचन आफैँमा संवेदनशील ठाउँ रहेकाले त्यसमा कसैले लापरबाही नगर्ने बताउँछन् । ‘किचनमा सरसफाइलाई राम्रो मेन्टेन गरेको हुन्छ । सुटिङमा प्राविधिकदेखि कलाकारसम्मले एउटै मेसमा खाना खान्छौँ । किचनको मान्छेले मिठो र सफा खुवाऔँ भनेर प्रयास गरिरहेको हुन्छ,’ हरिवंश भन्छन्, ‘त्यहाँ प्रोडक्सन कन्ट्रोलरले पहिले नै किचन सफा, राम्रो र खानेकुरा मिठो हुनुपर्छ भनेर ब्रिफिङ गरिसकेको हुन्छ । सुटिङमा खानाकै कारण बिरामी परेको भन्ने मैले भोेगेको र सुनेको छैन । कहिलेकाहीँ रातभर सुटिङ गर्नुपर्ने हुन्छ । त्यस्तो बेला मौसमका कारणचाहिँ बिरामी भएको छु ।’

अभिनेत्री मिरुना मगर सुटिङस्थलमा कसले के खान्छन् अथवा खाँदैनन् भन्ने किचन विभागलाई थाहा हुने भएकाले पनि सबैले स्वस्थ खाना खाने गरेको अनुभव सुनाउँछिन् । ‘म चाहिँ प्रायः स्थानीय खानेकुरालाई प्राथमिकता दिन्छु । इनर्जीका लागि बदाम र जुस आफैँ पनि बोक्छु । किचेनमा पाकेको तातो खाना नै खाइरहेको हुन्छु । त्यसकारण खानाकै कारण बिरामीचाहिँ भएकी छैन,’ उनी भन्छिन् ।

सन् २००४ देखि नेपाली फिल्ममा सक्रिय कलाकार प्रमोद अग्रहरी सुटिङको खानाकै कारण आफूलाई केही अप्ठ्यारो नभएको अनुभव सुनाउँछन् । ‘आफूलाई कुन समयमा के खानुपर्छ र कति खानुपर्छ भन्ने थाहा छ । मलाई त सुटिङ सेटमा ज्वरो, रुघाखोकी पनि केही भएको छैन,’ प्रमोद भन्छन् ।

अभिनेता सलोन चिया र कफीको पारखी हुन् । त्यसकारण पनि सुटिङ सेटमा उनी चिया र कफी बढी नै पिउँछन् । ‘सुटिङको खाना खाएकै कारण बिरामी त भएको छैन । सुटिङमा जे पाक्छ त्यही नै खाइरहेको हुन्छु । मलाई यो बनाइदेउ, त्यो बनाइदेउ भन्ने अवस्था पनि हुँदैन,’ सलोन सम्झन्छन् ।

अभिनेत्री सरिता गिरी कलाकारको स्वास्थ्य अवस्थाले उसको स्वास्थ्य समस्या निर्धारण गर्ने बताउँछिन् । ‘कतिपय खानेकुराहरू मैले खान हुँदैन भन्ने भएपछि सेटकै मात्र होइन, घरकै खानाले पनि हानि हुन्छ । म आफैँ पनि स्पाइसी फुड कम खान्छु । सुटिङको समयमा प्रायः उसिनेको, उमालेको खानेकुरा खान्छु । मैले काम गरेका फिल्ममा सबैलाई मेरो खान्कीबारे थाहा छ,’ सरिता भन्छिन्, ‘म कतिपय कुराहरू पहिल्यै भन्छु । प्रोडक्सनले उपलब्ध गराइदिनु हुन्छ । कतिपय अवस्थामा मैले माग गरेको कुरा ल्याइदिनु हुँदैन । त्यस्तो बेला भोकै पनि बस्नुपर्ने हुन्छ ।’

कसरी मेन्टेन गर्छन् शरीर

सुटिङको व्यस्त सेड्युलका बाबजुद पनि कलाकारहरू आफूलाई ‘फिट एन्ड फाइन’ नै राखिरहेका हुन्छन् । हरिवंश आफ्नोमा खाने क्षमता कम भएको स्वीकार्छन् । त्यसकारण पनि उनी चाहिनेभन्दा कम खान्छन् । ‘पहिले एकैदिनमा खाएको खाने कुराले अहिले मलाई ४ दिनसम्म पुग्छ । म कार्बोहाइडेड कम खान्छु । नियमित व्यायाम गर्छु । बिहानचाहिँ जस्तोसुकै अवस्थामा पनि १ घण्टाचाहिँ शरीरलाई समय दिन्छु,’ उनी भन्छन् ।

अभिनेत्री मिरुना नियमित व्यायाम गर्छिन् । व्यस्त सुटिङको सेड्युलका कारण उनी जिम जान पाएकी छैनन् । ‘जिम नगए पनि घरमै व्यायाम गर्छु । सकेसम्म सुगर नियन्त्रण गर्ने प्रयासमा हुन्छु,’ उनी भन्छिन् ।

अभिनेता प्रमोद आफूलाई फिट राख्न डाइट र जिममा बढी ध्यान दिन्छन् । ‘म घरमा नै पकाएर खान्छु । घरबाहिर केही खाँदा पनि खाँदिनँ । रेस्टुरेन्टमा जाँदा पनि खासै केही खाइँदैन,’ प्रमोद भन्छन् ।

अभिनेता सलोन शारीरिक व्यायामलाई जोड दिन्छन् । उनको अनुभवमा घरमा बस्दा शरीर मेन्टेन गर्न सजिलो हुने भए पनि सुटिङ सेटमा भने निकै गाह्रो पर्छ । ‘सुटिङमा समयमै खाना खाने भन्ने हुँदैन । कामबाट फुर्सद कति बेला मिल्छ टुंगो हुँदैन । तैपनि आफूलाई जतिसक्दो मेन्टेन नै गरिरहेको हुन्छु,’ सलोन खुल्छन् ।अभिनेत्री सरिता दैनिक २ घण्टा वर्कआउट गर्छिन् । अभिनयमा आउनुअघि सरिता सितोरियो कराँतेको राष्ट्रिय खेलाडी हुन् ।

त्यसकारण पनि उनलाई व्यायाम अनिवार्य जस्तै छ । ‘म दुब्लाउन अथवा शरीर मेन्टेन गर्नभन्दा पनि शरीरले के कुरा माग्छ, त्यसलाई ध्यान दिन्छु । वर्कआउट १ हप्ता, २ दिन, अथवा ३ दिनमा गरौँला, तर शरीरले त त्यो मागी नै रहेको हुन्छ,’ सरिता भन्छिन् ।

मेस परिवर्तन

हरिवंश र सलोनले भनेजस्तो कुनै बेला सुटिङ सेटमा ‘चाउचाउ’ हाबी भइरहँदा अहिले त्यो अवस्था छैन । २६ वर्षदेखि नेपाली फिल्ममा निर्माण नियन्त्रकका रूपमा कार्यरत सुवास काफ्ले पहिले र अहिलेको मेसमा परिवर्तन भएको स्वीकार्छन् ।

‘पहिला २–३ दिन बिराएर मासु हुन्थ्यो । फाइट र डान्स हुँदा मात्र खाना अनिवार्य गरिन्थ्यो । त्यो अवस्था अहिले छैन । हरेक दिन बिहान अण्डा र चना, र कुखुराको मासु हुन्छ । तरकारीमा पनि विविधता छ,’ सुवास भन्छन् ।

हरिवंशको अनुभवमा प्रोडक्सनले किचन विभागलाई राम्रो पैसा तिर्ने भएकाले पनि खानामा विविधता छ । ‘मासु नखाने मान्छेलाई पनिर हुन्छ, अरू शाकाहारी खानेकुरा हुन्छ । मासु एक छाक छुट्दैन । हप्ताको एकपटक खसीको मासु खुवाउँछन् । कहिलेकाहीँ माछा पनि हुन्छ,’ हरिवंश भन्छन् ।

मिरुनाका अनुसार अहिले सुटिङ सेटमा प्राविधिकदेखि कलाकारसम्मले ‘हाइजेनिक’ खाना खान पाइरहेका छन् । ‘तरकारी पनि स्थानीय बारीकै खाइरहेका हुन्छौँ । खानेकुरामा अहिलेसम्म कुनै गुनासो छैन । खानाको गुणस्तर पनि बढ्दै गएको छ,’ उनी भन्छिन् ।

अभिनेत्री सरिता खानेकुरा त्यही नै बनाए पनि कलाकारले के खाने अथवा के नखाने भन्ने कुराले केही परिवर्तन आएको दाबी गर्छिन् । ‘अहिले कलाकारका लागि कुन खानेकुरा फिट छ अथवा छैन भनेर टिमले पनि सोधेर उपलब्ध गराइदिनुहुन्छ,’ उनी भन्छिन् ।

कलाकारहरूको ‘हेल्थ टिप्स’

कलाकारहरू आफ्नो शरीरलाई मेन्टेन गरिरहँदा अन्य कलाकारलाई पनि त्यस्तै मेन्टेन गर्न सल्लाह दिन छुटाउँदैनन् । उनीहरू फरक–फरक सल्लाह दिन्छन् ।

हरिवंश अहिलेको पुस्ता मासुमा मात्रै केन्द्रित भइरहँदा चिन्तित छन् । ‘अहिलेका मान्छेहरू शाकाहारी हुन छोडे । मासुमा मात्र ध्यान दिन थाले । त्यो हामीले गलत गर्दै छौँ । किनकी कुखुराको मासोमा इन्जेक्सनको प्रयोग हुन्छ । त्यो खाँदा त्यसको भ्याक्सिन हामी पनि खान्छौँँ,’ उनी भन्छन्, ‘कुखुराको मासु उत्पादक फार्म हाउसले यो कुरामा विचार गर्नुपर्छ । विदेशतिर पनि कुखुराको मासु गुणस्तरीय पाइन्छ । खुला ठाउँमा छोडेको र कम्पाउन्डमा छोडेका कुखुराको मासु खुवाउँछ । सरकारले कुखुरामा कति भ्याक्सिन प्रयोग गरेको छ भनेर अनुगमन गर्छ । हाम्रोमा अनुगमन औपचारिकतामा मात्र सीमित छ । अहिलको पुस्ताले फलफूल तरकारीमा पनि जोड दिनुपर्यो र विषादी प्रयोग नभएको खानेकुरा खोजेर खानुपर्छ ।’

अभिनेत्री मिरुना जंक फुडमा कम र शाकाहारी खानामा बढी ध्यान दिन आग्रह गर्छिन् । सुगर नियन्त्रण हुने किसिमका खानेकुरामा जोड दिन उनको सुझाव छ ।

अभिनेता सलोन शरीर जिममा भन्दा पनि किचनमा बन्ने भएकाले किचनको खानेकुरामा ध्यान दिन आग्रह गर्छन् । अभिनेत्री सरिता अहिलेको पुस्ता स्वास्थ्यप्रति संवेदनशील भएकाले उनीहरूलाई ‘हेल्थ टिप्स’ आवश्यक नपर्ने टिप्पणी गर्छिन् । ‘उनीहरू जिम जान्छन्, डान्स गर्छन् । त्यो पनि एउटा एक्सरसाइज नै हो । हाइकिङ जान्छन्, ट्रेकिङ जान्छन् । स्वास्थ्य छ भने सबै छ, नत्र केही छैन,’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • ३ घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • ४ घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ४ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved