नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताएका छन् ।


आज यहाँ नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरुसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै उनले हैजा संक्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गरे ।



महामन्त्री थापाले भने, ‘हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ, त्यसका लागि अस्पताल प्रशासनले अत्यावश्यक औषधि, खोप र जनशक्तिको पनि उचित ढंगले प्रबन्ध गर्न आवश्यक छ ।’

उनले आफू काठमाडौं फर्किएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री र सरोकार भएका निकायसँग समन्वय गरेर अत्यावश्यक औषधि र अन्य सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री थापाले अस्पतालको सरसफाइका विषयमा पनि विशेष चासो दिन आग्रह गरे ।
‘म स्वास्थ्यमन्त्री हुँदा पनि देशभरिका अस्पतालमा सरसफाइ मुख्य समस्याका रूपमा रहेको अनुभव गरेको थिएँ, मैले करिब ९ महिना मन्त्री भएर काम गर्दा यो समस्या समाधानको प्रयास गरे पनि सकिनँ’, उनले भने, ‘अस्पतालको परिसर र शौचालय मात्रै फोहर देखिने विषय होइन, सरसफाइ जनशक्ति व्यवस्थापनलगायत विविध विषय रैछन्, यो अस्पतालको सुशासन र अन्य बहुआयामिक विषयसँग पनि जोडिएको छ ।’
महामन्त्री थापाले सरकारी र निजी अस्पतालमा उपचारका लागि जाँदाखेरि फरक महसुस गर्ने विषय पनि अस्पतालको सरसफाइ नै रहेको उल्लेख गरे । ‘प्रायः जसो निजी अस्पताल पनि सरकारी अस्पतालमा नै काम गर्ने जनशक्तिबाट नै सञ्चालन हुने हो, तर निजी र सरकारी अस्पतालबीच सरसफाइमा धेरै फरक छ, त्यसैले यस विषयमा ध्यान दिन जरुरी छ’, उनले भने ।
महामन्त्री थापाले नारायणी अस्पताललाई वीरगञ्ज र आसपासको क्षेत्रको आसा तथा भरोसाको केन्द्रका रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले नारायणी अस्पतालको पूर्वाधार निर्माणमा हुने गाँठो फुकाउनका लागि आफू जुनसुकै सहयोग र समन्वय गर्न पनि तयार रहेको बताए ।








