मुम्बई । अभिनेत्री विद्या बालन बलिउडकै सुन्दर र हँसिली अभिनेत्रीमा चिनिन्छिन् । उनले करियरमा एकसेएक उत्कृष्ट फिल्म दर्शक र फिल्म उद्योगलाई दिएकी छन् । सन् २००३ मा बंगाली फिल्म ‘भालो थेको’बाट अभिनयमा डेब्यु गरेकी विद्याले सन् २००५ मा रिलिज फिल्म ‘परिणीता’बाट हिन्दी फिल्ममा पाइला चालिन् । विद्याले ‘परिणीता’का लागि ७५ पटक अडिसन दिएकी थिइन् । यो फिल्म बक्सअफिसमा ब्लकबस्टर बनेको थियो । यो फिल्मपछि बलिउडमा उनको भाग्य नै चम्कियो । यो फिल्मलाई निर्माताले २० वर्षपछि पुनः रिलिज गर्दैछन् ।


फिल्मको रिः रिलिजलाई लिएर विद्या निकै उत्साहित छिन् । फिल्ममा ‘ललिता’ चरित्रमा देखिएकी विद्या अहिले फिल्मको अडिसन सम्झँदा भावुक हुन्छिन् । ‘यो फिल्मका लागि मैले जुन संघर्ष गरे, त्यो संघर्ष अहिलेको पुस्ताको लागि प्रेरणा नै बन्छ किनकी ‘परिणीता’का लागि मैले ७५ पटक अडिसन दिनुपरेको थियो’, विद्या भन्छिन्, ‘मैले हरेक अडिसनमा आफ्नो कला निखारेँ र हरेकपटक आफूलाई उत्कृष्ट सावित गर्दै गएँ ।’



फिल्ममा प्रदीप सरकारको निर्देशन छ । फिल्ममा सैफ अली खान र सञ्जय दत्तको समेत अभिनय थियो । तर विद्याको अभिनयले सबैलाई अचम्मित बनाएको थियो । यो फिल्म शरदचन्द्र चट्टोपाध्यायको यही नामको उपन्यासमा आधारित छ ।









