सियोल । दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम किओन हीलाई पनि पूँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मंगलबार राति पक्राउ गरिएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीया किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकहरुको अनुरोधको पुनरावलोकन गरेको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।


अभियोजकहरुले किमको कथित गैरकानुनी कार्यबारे ८४८ पृष्ठलामो राय पेश गरेपछि प्रमाण नस्ट गर्न सक्ने खतरा रहेको भन्दै पक्राउ पूर्जी जारी गरिएको हो । उनको पक्राउसँगै दक्षिण कोरियाको इतिहासमा पहिलो पटक एक पूर्वराष्ट्रपति र प्रथम महिला जेलमा परेका छन् । किममाथि लगाइएको अभियोगमा पूँजी बजार र वित्तीय लगानीसम्बन्धी कानूनका साथै राजनीतिक कोषसम्बन्धी कानुनको उल्लंघन गरेको पनि उल्लेख छ ।



गत डिसेम्बर ३ मा पूर्वराष्ट्रपति युन सुक योलले संसदमा सैनिक तैनाथ गरी संसदीय प्रक्रिया अवरुद्ध पार्न खोजेको तर विपक्षी सांसदहरुले सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद संसदमा प्रवेश गरी उनको गैरकानुनी कदमविरुद्ध मतदान गरेका थिए । उनीविरुद्ध पछि महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो भने महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित भएपछि उनलाई पक्रउ गरिएको थियो ।

पूर्वराष्ट्रपति योलले आश्चर्यजनक सैनिक शासन घोषणा गरेपछि भएको यो गिरफ्तारी दक्षिण कोरियाको इतिहासमा नै पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुवै जना बन्दी बनेको पहिलो घटना हो ।
पूर्वउच्च अभियोजकसमेत रहेका पूर्वराष्ट्रपति यूनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो भने मार्शल ल को घोषणाको कारण पदबाट हटाइएको थियो । उनको पक्राउपछि रिक्त रहेको राष्ट्रपति पदका लागि जूनमा मध्यावधि चुनाव भएको थियो।
पूर्वराष्ट्रपति यून जुलाई १० देखि पक्राउ परेका छन् भने अहिले हिरासतमा छन् । बुधबार सरकारी वकिलको कार्यालय पुगेकी किमले भनिन्, ‘कुनै महत्वको व्यक्ति नभए पनि राष्ट्रको लागि समस्या सिर्जना गरेको भए म क्षमा याचना गर्दछु ।’
पूँजी बजार हेरफेरमा भूमिका खेलेको विवादले लामो समयदेखि किमलाई घेरेको छ । सन् २०२२ मा एक जना बामपन्थी पास्टरले उनलाई दिएको डायर ह्यान्डब्याग उपहारसहितको भिडियो खिचेपछि सार्वजनिक आलोचना सुरु भएको थियो । उनीमाथि युनको पार्टीमा सांसदहरुको मनोनयन प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि लगाइएको छ, जुन निर्वाचन कानूनको उल्लंघन हो ।
राष्ट्रपतिका रुपमा युनले विपक्षी नियन्त्रित संसदले पारित गरेका तीन वटा विशेष अनुसन्धान विधेयकमा भिटो लगाएका थिए । जसमा किममाथि लागेको आरोपको छानबिन गर्न खोजिएको थियो । त्यसको एक हप्तापछि युनले असफल सैनिक शासनको घोषणा गरेका थिए ।
जेलको नियम अनुसार किमले आफ्नो सामान्य लुगाबाट जेलको खाकीको कपडा लगाउनुपर्नेछ भने कैदीको नम्बर पनि तोक्नुपर्नेछ । दक्षिण कोरियामा गर्मीको लहर चलिरहँदा पूर्वप्रथम महिला किमलाई १० वर्ग मिटर (१०७ वर्ग फिट) को एकान्त कक्षमा राखिएको छ । जसमा पंखा छ । तर वातानुकूलन छैन ।
जेलको आधिकारिक तालिका अनुसार उनलाई रोटी, जाम र ससेजसहित नियमित ब्रेकफास्ट दिइएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार उनको कोठामा खान र पढ्नका लागि एउटा सानो टेबल, एउटा शेल्फ, एउटा सिंक र एउटा शौचालय छ । तर ओछ्यान छैन ।
उनलाई सामान्यतया उनका श्रीमान योल सरह नै कैदी गृहमा राखिने भएता पनि अभियोजकहरुले सोमबार उनलाई २० किलोमिटर टाढाको छुट्टै हिरासतमा राख्न अनुरोध गरेका थिए ।
पक्रउ पूर्जी जारी भएपछि प्रथम महिलाको पूर्वराष्ट्रपतिको परिवारका लागि दिइएको सुरक्षा सेवाको सुरक्षा तुरुन्तै समाप्त गरिएको थियो । कानुनविद् किम नाम–जुले अभियोजनकर्ताले किमलाई २० दिनसम्म थुनामा राख्न सकिने बताएका छन् ।वकिल नाम–जुले भने, ‘किममाथि अभियोग अनुसार उहाँलाई कम्तीमा ६ महिनासम्म हिरासतमा राख्न सकिनेछ ।
पूर्वप्रथम महिलाले वारेन्टलाई गैरकानुनी भन्दै अदालतमा चुनौती दिन सक्ने व्यवस्था दक्षिण कोरियाको कानुनी प्रावधान छ । वकिल नाम–जुले भने, ‘तर हालको परिस्थितिलाई हेर्दा, प्रमाण नष्ट हुने उच्च जोखिम देखिन्छ, जसले गर्दा वारेन्ट रद्द हुने र व्यक्तिलाई रिहा गर्ने सम्भावना कम हुन्छ, अर्को विकल्प जमानत हो, तर प्रमाण नष्ट गर्नेबारे चिन्ता भएको अवस्थामा यो अनुमति पनि दिइएको छैन ।’








