काठमाडौँ । एमाले नेता तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा नयाँ संकल्पका लागि आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गरेसँगै थापाले यस्तो आव्हान गरेका हुन् ।


उनले पार्टीभित्र देखिएको घृणा, अपमान र निषेधको अन्त्य र जनताको बहुदलीय जनवाद (जबज)का मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्पका लागि आह्वान गरेका हुन् ।



नेता थापाले स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लड्न पनि अपिल गरेका छन् । ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ सङ्कल्प गरौँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौँ । हरेक विवेकशील एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु ।’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन प्रयासरत थापालाई मङ्गलबार एमाले नेतृत्वले केन्द्रीय कमिटी बैठकमा बोल्न बाट समेत रोकेका थिए ।








