काठमाडौं । ‘नक्कली प्रचण्ड’ नामले परिचित कलाकार घनश्याम गौतमको निधन भएको छ । लामो समयदेखि रोगले थलिएका कलाकार गौतमको सोमबार राति निधन भएको उनको परिवार स्रोतले जनाएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।


कलाकार गौतम उनी दुई वर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । राति १ बजेको पोस्टमा फोटो सेयर गर्दै लेखिएको छ– अब हामीमाझ रहनुभएन, हार्दिक श्रद्धाञ्जली ।



चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा गौतम ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा चर्चित थिए । अल्पायुमै संसारबाट बिदा लिएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका छन् ।

डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । अवस्था थप जटिल भएपछि केही दिनअघि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना गरेको थियो । कलाकार गौतमको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।








