Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गृहमन्त्री लेखकलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ७ महिना अगाडि

काठमाडौँ । भिजिट भिसामार्फत् भइरहेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि सत्तारुढ नेपाली कांग्रेसभित्र हलचल मच्चिएको छ । सो प्रकरणमा गृहमन्त्रीको संलग्नतामाथि प्रश्न उठाउँदै नेताहरूले उनलाई राजीनामाका लागि दबाब दिएका छन् ।

सरकारको कामकारबाहीप्रति जनस्तरबाट असन्तुष्टि आइरहेको र कांग्रेसका मन्त्रीहरूले पनि प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेताहरू आफ्ना मन्त्रीहरूसँग विगतदेखि नै असन्तुष्ट थिए । पार्टीका पदाधिकारी बैठकहरूमा निरन्तर मन्त्रीहरूको विषयमा प्रश्न उठ्ने गरेको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम मुछिएपछि भने उनले राजीनामा गर्नुपर्ने भन्दै नेताहरूले सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् । नेताहरूले सार्वजनिक रूपमै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका छन् ।

भिजिट भिसामा सेटिङ गरी मानव तस्करसँग साँठगाँठ गरेर ठुलो मात्रामा रकम लेनदेन हुने गरको सूचनाका आधारमा गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मार्दै कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । तत्पश्चात गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयबाट प्रमुख भट्टराईसहित अन्य १५ जना कर्मचारीलाई सरुवा समेत गरिसकेको छ ।

भट्टराई विगतदेखि नै गृहमन्त्री लेखकसँग निकट रहेको र अहिले पनि लेखककै स्वार्थमा अध्यागमन पठाइएको भन्दै टिकाटिप्पणी भइरहेको छ । दैनिक रूपमा लाखौँ रुपैयाँ सेटिङमा असुली हुने र त्यो रकम राजनीतिक तहसम्म पुग्ने गरेको आशंकाका बीच गृहमन्त्री लेखकको नैतिकतामा प्रश्न उठेको छ । अध्यागमन प्रमुख भट्टराईसँग गृहमन्त्री लेखकको सचिवालयका जनक भट्ट, गणेशदत्त ओझा, विमल पौडेल र बद्री तिवारीलगायतको नियमित सम्पर्क देखिँदा अख्तियारले समेत अनुसन्धानको सुई मन्त्रीसम्मै सोझ्याउने सम्भावना देखिएको छ ।

सचिवालयमा कार्यरत पौडेल यसअघि पनि भिजिट भिसा प्रकरणमा मुछिएर अदालतबाट सफाइ पाएका थिए । मन्त्रीको सिंगो सचिवालय नै यस प्रकरणमा जोडिएपछि मन्त्री लेखक स्वयं जबाफदेहिता आवश्यक देखिएको छ । प्रतिपक्षी दलका नेताहरू, आमसर्वसाधारण र सामाजिक सञ्जालमार्फत् उनको राजीनामाको माग भइरहेका बेला कांग्रेसभित्र पनि सो विषयले प्रवेश पाएको हो । स्रोतका अनुसार गृहमन्त्रीको यस्तो शंकास्पद गतिविधिले सरकार र पार्टी दुवैलाई क्षति पुग्ने भन्दै शीर्ष नेताहरू नै उनको राजीनामाको पक्षमा उभिएका हुन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले सार्वजनिक रूपमै गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नैतिकता देखाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । ‘उहाँले नैतिकताको हिसाबमा म सफा छु, अहिले राजीनामा गरेँ । छानबिन समिति बनाउनुस् । गर्नुस् तपाईँहरू भने भइहाल्योे नि !,’ उनले भने, ‘त्यसले नैतिकता देखिन्छ ।’

गृहमन्त्री लेखकले भने यो घटना कहाँबाट, कसरी र किन भइरहेको भन्ने सन्दर्भमा खोजिरहेको बताएका छन् । शनिबार पार्टी कार्यक्रमका लागि धनुषा पुगेका उनले कार्यकर्ताहरूमाझ आफूले यस विषयमा २–४ दिनपछि मात्रै बोल्ने बताए । आफूले कुनै गलत काम नगर्ने भन्दै गलत काम गरेको दिनदेखि राजनीतिमा देखा नपर्ने उनले जिकिर गरे । ‘मैले जीवनभर राजनीति गर्दा म पार्टीको कुनै पनि साथीको मन सानो हुने, टाउको निहुराउने काम गर्दिनँ,’ उनले भने, ‘जुन दिन मेरो हातले त्यस्तो गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखापर्दिनँ ।’

शनिबार नै सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लेखकले आफूविरुद्ध राजनीतिक रूपले नियोजित षड्यन्त्र गरी झुटा प्रचार भएको बताए । आफ्नो सार्वजनिक, राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित भएमा मन्त्रीबाट मात्रै नभई राजनीतिबाटै राजीनामा दिने उनको जिकिर थियो । यसबारे १३ जेठको प्रतिनिधिसभा बैठकमा कुरा राख्न समय मागेको उनले सुनाए । ‘कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउँदै जाने हो ?,’ उनले प्रश्न गरे, ‘के आजसम्म त्यस्तो भएको छ ?’

सौर्य दैनिकसँग कुरा गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले गृहमन्त्रीको विषय पदाधिकारी बैठकमा छलफलको विषय बन्नुपर्ने बताए । उनले गृहमन्त्रीको नाम मुछिनुले मतदाताको मनोभावनामा असर परेको भन्दै यसलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । यद्यपि, गृहमन्त्रीलाई आफ्नो कुरा राख्ने अवसर दिएर मात्रै पार्टीले अन्य विषयमा निर्णय गर्नुपर्ने उनको भनाइ छ । ‘भएको के हो, गृहमन्त्रीले आफ्नो कुरा आमनागरिकमा स्पष्ट रूपमा राख्नुपर्छ । सफाइको मौका दिनुपर्छ । त्यसपछि पार्टीले आवश्यक निर्णय लेला,’ उनले भने ।

मन्त्रालयले भन्यो– मन्त्रीको संलग्नता छैन

गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिनु कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै गैरकानुनी वा भ्रष्टाचारजन्य काममा मन्त्रीको संलग्नता नभएको दाबी गरेको छ । ‘यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ,’ मन्त्रालयले भनेको छ, ‘अध्यागमनको काम कारबाहीमा अख्तियारबाट हुने छानबिनमा मन्त्रालयको पूर्ण सहयोग रहन्छ ।’

‘कुलिङ पिरियडमा चित्त नबुझे राजीनामा दिए हुन्छ’

कांग्रेस नेता डा. शेखर कोइरालाले निजामती कर्मचारी विधेयकमा २ बर्से ‘कुलिङ पिरियड’ राख्ने र चित्त नबुझे राजीनामा दिन सचिवहरूलाई चुनौती दिएका छन् । कुलिङ पिरियड नहुँदा सचिवबाट सेवा निवृत्त हुनासाथ संवैधानिक निकायमा नियुक्ति खाने गर्दा संवैधानिक निकाय नै रिटायरमेन्ट क्लबजस्तो देखिएको उनको भनाइ छ । ‘२ वर्ष कुलिङ पिरियड राख्नैपर्छ । उहाँहरूले प्रेसर दिएर राजीनामा गर्छु भन्नुभएको छ । राजीनामा गरेर देखाउनुप¥यो नि पहिले !’ उनले भने ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • २ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • २ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved