काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई सक्रिय राजनीतिमा भित्र्याएका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि सक्रिय राजनीतिमा फर्काउन जोडबल गरिरहेका छन् । पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा ल्याएर नजिर बसाएका उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन प्रोत्साहित गरेका हुन् ।


सक्रिय राजनीतिमा फर्किन एमालेको दसौँ महाधिवेशन कुरिरहेकी भण्डारीलाई प्रोत्साहन हुने गरी प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सेप’मा परेको अनुभव गरेका प्रचण्डले एमाले नेतृत्वमा भण्डारी आएको अवस्थामा नेपालको कम्युनिस्ट आन्दोलनको कमान्ड आफ्नो हातमा आउने आकलन गरेका छन् ।एमाले अध्यक्ष ओली रहुन्जेल सत्तामा रहिरहने र आफू सधैँ कर्नरमा पर्ने भयले उनले भण्डारी नेतृत्वमा आउँदा कम्युनिस्ट एकतामा पनि सहज हुने भन्दै उच्च स्तरमा लबिइङ गरिरहेको जानकारहरू बताउँछन् ।



पार्टीभित्र र बाहिर तीव्र विरोधका बीच उपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा फर्काएका उनले आइतबार पनि पुन र भण्डारीको ‘कमब्याक’लाई रक्षा गर्ने गरी अभिव्यक्ति दिए । विराटनगर पुगेका प्रचण्डले दुवैलाई राजनीतिमा आउन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले पनि नरोक्ने जिकिर गरे ।

ओली–प्रचण्ड सम्बन्धमा दरार
माओवादी केन्द्रले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धको कट्टर आलोचक र विरोधी हुन्– एमाले अध्यक्ष ओली । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीको दबदबाविरुद्ध उनी सधैँ आक्रामक भइरहे । माओवादीले पनि उनलाई आफ्नो मुख्य दुस्मनकै रूपमा लिइरह्यो । २०६४ को संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल भएपछि पनि ओलीले आलोचना छाडेनन् । नवौँ माहाधिवेशनमा अध्यक्ष निर्वाचित भएपछि पनि उनी माओवादीप्रति उदार हुन सकेनन् । आजपर्यन्त उनी माओवादी केन्द्रप्रति कठोर छन् ।
यसकारण पनि ओली नेतृत्वमा रहिरहे आफू असुरक्षित हुने भय प्रचण्डलाई छ । र, उनलाई कमजोर बनाउन स्वाभाविक रूपमा लागिपरेका छन् । ‘ओली–प्रचण्ड सम्बन्ध भनेको भैँसी र हात्तीको जस्तो हो । भैँसी देख्दा हात्ती तर्सिने र हात्ती देख्दा भैँसी तर्सिने भनेजस्तो उहाँहरू एक–अर्कालाई देखेर सधैँ तर्सिनुहुन्छ । आपसी विश्वासको चरम खडेरी छ,’ नेकपा अन्तरद्वन्द्वमा २ नेता मिलाउन लागिपरेका एक नेताले सौर्य दैनिकसँग भने, ‘राजनीतिमा एकले अर्कोलाई अघि बढ्न नदिने पक्षमा दुवै नेता हुनुहुन्छ । सम्बन्ध सुध्रिने छाँट पनि देखिँदैन ।’
त्यसो त गत वर्षको असार १७ गते एमालेले पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर कांग्रेससँगको गठबन्धनमा ओलीलाई प्रधानमन्त्री बनाएपछि एमाले–माओवादीबीच संवादसम्म हुन सकेको छैन । गत बिहीबार मात्रै पनि प्रधानमन्त्री ओलीले द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने अभिव्यक्ति दिए । उनले माओवादीलाई धम्क्याउन द्वन्द्वको कुरा झिकिरहन्छन् । संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पु¥याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने उनको भनाइ छ । उनको सो अभिव्यक्तिले प्रचण्ड झनै सशंकित छन् ।
नेकपाकालमा झांगिएको प्रचण्ड–विद्या सम्बन्ध
२०७४ असोज १४ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच गठबन्धन गरी निर्वाचनमा जाने सहमति भयो । ७ बुँदामा गरिएको सहमतिअन्तर्गत निर्वाचनलगत्तै पार्टी एकता गर्ने पनि सहमति थियो । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनपछि २०७५ जेठ ३ गते २ पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । त्यही नेकपाकालीन दिनहरूमा भण्डारी र प्रचण्डको सम्बन्ध झांगिएको हो । भण्डारीलाई दोस्रो कार्यकाल राष्ट्रपति बनाउन प्रचण्डले विशेष भूमिका खेलेपछि उनी पनि प्रचण्डप्रति अनुगृहित देखिएकी थिइन् ।
नेकपाभित्र विभिन्न विषयमा चरम अन्तरद्वन्द्व हुँदा उनै तत्कालीन राष्ट्रपति भण्डारी साक्षी बसेर मिलाउने गरेकी थिइन् । नेकपाका नेताहरूबीच असमझदारी बढ्दै जाँदा २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट अर्कै पार्टीसँग नाम मिलेका आधारमा २०७५ जेठ ३ को एकता बदर भएपछि एमाले र माओवादी केन्द्र आ–आफ्नै पार्टीको अस्तित्वमा आए । अहिले नेकपासम्बद्ध दलहरू एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा राष्ट्रिय अभियानमा विभक्त भएका छन् ।
तत्कालीन अवस्थामा नेकपा जोगाउन भण्डारीले अन्तिमसम्म प्रयास गरे पनि सकिनन् । अध्यक्ष ओलीकै कारण एकता नटिकेको प्रचण्डको बुझाइ छ । उतिबेलै भविष्यमा विद्या भण्डारीको नेतृत्व भएको खण्डमा एकता कायम रहिरहने चर्चा हुने गरेको थियो । त्यसयता पनि प्रचण्ड–विद्या सम्बन्ध राम्रो रहेको जानकारहरू बताउँछन् ।
ओलीलाई साइजमा राख्न विद्या कार्ड !
२ कार्यकाल राष्ट्रपति भएकी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन प्रयासरत छिन् । ओलीसँग असन्तुष्ट एक पंक्ति उनलाई आगामी महाधिवेशनमा अध्यक्ष बनाउन लागिरहेको छ । उनको दबदबा बढिरहँदा ओलीले पनि दबाब महसुस गरेका छन् । तर, उनलाई सक्रिय राजनीतिमा ल्याउन इन्धन भरिरहेका छन्– प्रचण्ड । विगतमा ओलीको दम्भका कारण पार्टी एकता जोगाउन नसकिएको भन्दै सबै कम्युनिस्ट पार्टीलाई भण्डारीको नेतृत्वमा एकताबद्ध गराउन सकिने भनेर उनले विद्यालाई राजनीतिमा आउन प्रोत्साहित गरिरहेका छन् ।
ओली कमजोर भएको हेर्न चाहने उनले विद्यालाई आवश्यक सहयोग गर्ने वचनसमेत दिएका छन् । भण्डारी एमाले अध्यक्ष बनेको खण्डमा पुरानो नेकपा ब्युँतिने लोभ देखाइएको छ र भण्डारीले समेत सो कुराको सपना बुनेको बताइएको छ । उनी निकट नेताहरूले बलियो कम्युनिस्ट पार्टी बनाउन भण्डारीको नेतृत्व आवश्यक भनेर प्रचार गर्नुको पछि प्रचण्ड, माधव नेपाललगायतको ढाडस भएको पनि कतिपय नेताहरू बताउँछन् ।








