Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

तितो सम्बन्ध बनाएका अमेरिकी मन्त्रीको मिठो बिदाई भेट, ओलीसँग भेट्न पाएनन्

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ वर्ष अगाडि

२३ मंसिर, काठमाडौं । चिनियाँ बाबु र अमेरिकी आमाका छोरा डोनाल्ड लुले नेपालमा ३० वर्षअघि आफ्नी जीवनसाथी पाएका थिए । त्यो प्रेमजोडीले बस चढेर जनकपुर, सौराहा घुमेको थियो ।

अमेरिकी सहायक विदेशमन्त्रीको कार्यकाल सकिन लाग्दा ‘बिदाई भेट’ को शैलीमा आइतबार काठमाडौं ओर्लेका लुसँग नेपालसँग जोडिएका व्यक्तिगत पल जति मिठा छन्, कुटनीतिक जीवनका पल भने त्यति प्रिय छैनन् ।

 

अमेरिकी राष्ट्रपति जो बाइडनको कार्यकाल सकिँदै गर्दा उनको प्रशासनका सहायक विदेशमन्त्री लुको पनि कार्यकाल यही जनवरी २०२५ पहिलो साता, अर्थात् पुस तेस्रो साता सकिँदैछ । कार्यकालभरि आधा दर्जन जतिपल्ट नेपाल आइसकेका यिनै अमेरिकी मन्त्रीले तीन वर्षअघि माघ ०७८ मा एमसीसी अनुमोदन सिलसिलामा नेपालका ठूला तीन दलका शीर्ष नेताहरूलाई वासिङ्टन डीसीबाट टेलिफोन गरी थर्काएका थिए ।

एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना विभिन्न देशहरूको आर्थिक विकासमा केन्द्रित हुने भनेर घोषणा गरिएको अमेरिकी अनुदान कार्यक्रम हो । विद्युतको लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत् आर्थिक विकासलाई सघाउने लक्ष्य यो परियोजनाले लिएको बताइएको छ ।

 

नेपालमा यही सहायता लिने कि नलिने भनेर चर्को बहस भइरहेका बेला लुलगायत अमेरिकी उच्च अधिकारीहरू तारन्तार नेपाल भ्रमणमा थिए । २७ माघ २०७८ मा लुले अमेरिकाबाट फोन गर्दै तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि प्रमुख प्रतिपक्षमा त्यस बेला रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लुले एक महिनाभित्रमा एमसीसी पास नभए नेपाल चिनियाँ हस्तक्षेपको शिकार बनेको अर्थमा आफूले बुझ्ने भनी चेतावनी दिएका थिए । उनले बाँकी कुरा नेपालमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग गर्न एक किसिमको निर्देशन नै थमाए ।

लुको जवाफमा एमाले अध्यक्ष ओलीले जे भन्नुपर्ने छ, सत्तापक्षलाई भन्न भन्दै आफू सत्तामा नरहेको ‘सम्झाएका’ थिए । स्मरण रहोस्, सन् २०२१ को फेब्रुअरी २८ अर्थात् २०७८ को फागुन दोस्रो सातासम्म एमसीसी पास गरिसक्न अमेरिकाले जोड दिएको थियो । नेपालमा भने अर्को वर्ष २०७९ सालमा तीन तहकै चुनाव आइरहेकाले चुनावभन्दा अघि एमसीसी पारित गराएर ‘राष्ट्रघात’ को अपजस लिन कतिपय दल र नेता तयार थिएनन् ।

त्यही बीचमा पेस भएका लुको आक्रामकताले नेपाल–अमेरिका कूटनीतिमा थपेको तिक्तता पनि झट्टै बिर्सिहाल्ने खालको छैन । त्यसैको आसपासमा भारत आइपुगेका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले तत्कालीन प्रधानमन्त्री देउवालाई दिल्लीबाटै एमसिसी अनुमोदन जोडेर फोन गरेका थिए ।

जे भए पनि अन्ततः नेपालले एमसिसी पास गर्‍यो । अमेरिकासँग सडकमै पोखिन थालेको तिक्तता क्रमशः हराउँदै गयो ।

तिनै चर्चित पात्र लु बाइडन प्रशासनका दक्षिण तथा मध्य एसिया हेर्ने अधिकारीका रूपमा बिदा हुने क्रममा भारत, श्रीलंका भ्रमण सक्दै नेपाल आएका थिए । उही हँसिमजाक र हार्दिकताको हाउभाउमा लुले नेपाली नेतृत्व भेट्न चाहे पनि प्रधानमन्त्री केपी शर्मा ओली भने सुट्ट झापा लागिदिए ।

प्रधानमन्त्रीको कार्यालयका एक उच्च अधिकारीले भने, ‘उहाँको पूर्वनिर्धारित कार्यक्रम हो, लु आउनु र उहाँ झापा जानु भनेको संयोगमात्रै हो । यसलाई कूटनीतिक तिक्तताको रंग दिन आवश्यक छैन ।’

प्रधानमन्त्री कार्यालयले जे भने पनि लु भ्रमणको कार्यसूची याद गर्नुपर्ने खालको छ । प्रधानमन्त्रीसहित ठूला तीन दलका नेता भेट्न चाहेका लुलाई प्रधानमन्त्रीले न्यानो रेस्पोन्स नगरिदिएपछि कांग्रेस र माओवादी केन्द्रका प्रमुखलाई भेट्ने कार्यसूची पनि औपचारिक सेड्युलबाट हट्यो । अमेरिकी दूतावासले सार्वजनिक गरेको कार्यक्रममा नागरिक समाज र युवा अगुवा मात्रै भेट्ने भनिएको छ । सोमबार इसिमोडसँगको एक सम्झौता हस्तान्तरणमा सहभागी भएर मन्त्री लु स्वदेश फर्कनेछन् ।

देउवा र प्रचण्डसँग भेटको कार्यसूची नखुलाइए पनि सहायक विदेशमन्त्री लुले उनीहरूलाई आइतबार अपराह्न भेटे । देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘लुसँग दुईपक्षीय हितका बारेमा, नेपाल र अमेरिकाको लामो मित्रता अनि समसामयिक विषयमा कुराकानी भयो ।’ अमेरिका तथा पश्चिमा राष्ट्रसँग तुलनात्मक खुला र उदार मानिने देउवासँग भेटका विषय विस्तृत रूपमा खुलाइएको छैन ।

 

माओवादी अध्यक्ष प्रचण्डसँग लुको भेट पछिल्लो संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने, समसामयिक विषयमा केन्द्रित भएको सचिवालयले बताएको छ । प्रचण्डले नेपाललाई दिँदै आएको सद्भाव र साथका लागि लुलाई धन्यवाद पनि दिए ।

‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र विपक्षीको रूपमा नलिएर राष्ट्रिय सहमतिका साथै टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुसीको कुरा हो’,’ प्रचण्डले लुसँग भने, ‘टीआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुसी बनाएको छ ।’

लु खासमा आफ्नो राजनीतिक कूटनीतिक जीवनको उत्तरार्धतिर रहेका वरिष्ठ अमेरिकी अधिकारी हुन्, जसको नेपाल आगमनले एकदमै ठूलो अर्थ नराख्न सक्छ । यसै पनि उनले समर्थन गर्ने बाइडेन प्रशासन रहेको डेमोक्रेटिक पार्टी अमेरिकामा रक्षात्मक बन्न गएको छ ।

नेपालमा भने भर्खरै प्रधानमन्त्री ओलीले चीनमा बीआरआई सहकार्य फ्रेमवर्क सम्झौता गरी नेपाल फर्केको, अनि उनको सरकार यसैकारण ढल्न सक्ने अनुमानहरू चलिरहेका छन् । यसै बेला पूर्वनिर्धारित तीन देशको भ्रमण क्रममा लु आइपुगे पनि उनको आगमनलाई नेपालमा सम्भावित सत्ता परिवर्तनको सदाबहार हल्लाकै पछिल्लो संस्करणका रूपमा जोड्न थालिएको छ ।

आइतबार एकै दिन प्रचण्ड निवास खुमलटारमा, अनि देउवा निवास बूढानीलकण्ठमा पुगेका लुले ती नेतासँग साझा गरेका पल हँसमुख र खुलस्त तस्वीरहरूमा कैद छन् । अघिल्लोपल्ट लु नेपाल आउँदा प्रचण्ड पत्नी सीता गुमाएको शोकमा थिए । लु प्रचण्डलाई निवासमै समवेदना साट्न फूलका गुच्छा लिएर पुगेका थिए ।

लुले आफ्नो बिदाई भेटलाई मिठो बनाउन गरेको मेहनत आइतबार सार्वजनिक तस्वीरहरू हेर्दै प्रष्ट हुन्छ, भलै यी तस्वीरहरूमा उनले प्रधानमन्त्री ओलीलाई समेट्न भने पाएनन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • १४ घण्टा अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • १४ घण्टा अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • १४ घण्टा अगाडि

yesplay register

  • २१ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved