खार्तुम । सुडानको पश्चिमी डार्फर क्षेत्रमा गएको भीषण पहिरोले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको छ भने कम्तीमा १००० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । उक्त घटनाबारे यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले सोमबार ढिलो जानकारी दिएको छ ।


सुडान लिबरेसन मुभमेन्ट–आर्मी (एसएलएम) ले आइतबार मार्रा पहाडको तारासिन गाउँमा भारी वर्षापछि यो प्रकोप आएको बताउँदै प्रारम्भिक जानकारीले सबै गाउँवासीको मृत्यु भएको संकेत गर्दछ, केवल एक जना बाँचेका छन्’ भनेको छ ।



साइट्रस उत्पादनका लागि परिचित क्षेत्रको पहिरोले गाउँ पूर्ण रूपमा नष्ट भएको र संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता संस्थाहरूलाई मृतक उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।

सुडान सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको गृहयुद्धले देशलाई विश्वकै सबैभन्दा खराब मानवीय संकटमा धकेलेको छ । एसएलएम प्रायः लडाइँबाट बाहिर रहन्छ तर डार्फरको केही पर्वत शृङ्खलामा यसको नियन्त्रण छ ।
डार्फरका सेना–गठबन्धन गभर्नर मिन्नी मिन्नावीले भूस्खलनलाई ‘क्षेत्रको सीमा नाघेको मानवीय त्रासदी’ भनेका छन् । उनले अन्तर्राष्ट्रिय मानवीय संस्थालाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै भने, ‘यो त्रासदी हाम्रा जनताले एक्लै सहन सक्ने भन्दा ठूलो छ ।’
भोक संकट
सन् २०२३ अप्रिलदेखि सुरु भएको सुडान सेना प्रमुख अब्देल फताह अल–बुरहान र आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति संघर्षले देशको पूर्वाधार ध्वस्त पारेको छ । यस युद्धमा दशौँ हजारको ज्यान गएको र करिब ४० लाख मानिस विस्थापित भएका छन् ।
डार्फरको पहिरो क्षेत्रमा चलिरहेको लडाइँले अन्तर्राष्ट्रिय सहायता संस्थाहरुको पहुँच कठिन बनाएको छ । जसले तत्काल मानवीय सहयोग वितरणमा गम्भीर चुनौती खडा गरेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार हाल सुडानभित्र करिब एक करोड मानिस विस्थापित छन् भने थप ४० लाख छिमेकी देशहरूमा पलायन भएका छन् ।









